काठमाडौं, अनलाइन बस टिकट बुकिङ सेवा बस सेवाबाट टिकट काटेर यात्रा गर्ने यात्रुले अब पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने भएका छन् । यात्रुको सुरक्षित यात्रालाई मध्यनजर गर्दै हिमालयन एभरेस्ट इन्स्योरेन्स र बस सेवाबीच यससम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा हिमालयन एभरेस्ट इन्स्योरेन्सका डिजिटल सेल्स चिफ म्यानेजर भुपेन्द्र श्रेष्ठ र बस सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पीआर खनालाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बस सेवा एप वा वेबसाइटमार्फत बस टिकट बुक गर्ने यात्रुले आफ्नो यात्राका लागि एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा लिन सक्नेछन्। उक्त बीमा सुविधा यात्राको अवधिमा लागू हुनेछ । बस सेवाका असिस्टेन्ट म्यानेजर दिपक बिकेले टिकट बुकिङ प्रक्रियासँगै यात्रुले आफ्नो आवश्यकताअनुसार बीमा सुविधा छनोट गर्न सक्ने विकल्प उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार टिकट काट्ने क्रममा यात्रुले बीमा सुविधा लिन सक्ने व्यवस्था गरिएको छ ।
यात्रालाई थप सुरक्षित बनाउने उद्देश्यले बीमा सुविधा उपलब्ध गराइएको बस सेवाले जनाएको छ । यस व्यवस्थाले अनलाइनमार्फत टिकट बुकिङ गर्ने यात्रुलाई यात्राको क्रममा हुन सक्ने दुर्घटनाविरुद्ध आर्थिक सुरक्षाको विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ । बस सेवाले नेपालमा अनलाइन माध्यमबाट बस टिकट बुकिङको सुविधा प्रदान गर्दै आएको छ । एक दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यस सेवामार्फत देशका ७० भन्दा बढी जिल्लामा सञ्चालन हुने विभिन्न बसको टिकट बुकिङ गर्न सकिन्छ ।
बस सेवा र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीचको यो सहकार्यले अनलाइन टिकट बुकिङसँगै यात्रु बीमाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।