काठमाडौं, सामसङ नेपालले मोबाइल फोन तथा घरायसी विद्युतीय उपकरणको मर्मत र प्रतिस्थापनमा शतप्रतिशतसम्म छुट दिने विशेष सेवा अभियान सञ्चालन गरेको छ ।
बाढीबाट प्रभावित ग्राहकलाई लक्षित गर्दै कम्पनीले नोभेम्बर २ सम्म अभियान सञ्चालन गर्ने जनाएको छ । यस अभियानअन्तर्गत कम्पनीले नारायणघाट सर्भिस सेन्टर र काठमाडौँको पाकोस्थित ताम्राकार सर्भिस सेन्टरबाट सेवा उपलब्ध गराइरहेको छ । घरायसी उपकरणका लागि घरमै पुगेर मर्मत सेवा दिने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । अभियानमा स्मार्टफोन, ट्याब्लेट, फ्रिज, वासिङ मेसिन, टेलिभिजनलगायत योग्य सामसङ उत्पादन समावेश छन् ।
सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ स्थानीय तहका प्रभावित क्षेत्र तथा रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत आसपासका जिल्लाका ग्राहकलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो । कम्पनीका अनुसार वारेन्टी अवधि बाँकी रहेका योग्य उपकरणको मर्मत तथा प्रतिस्थापनमा शतप्रतिशतसम्म छुट उपलब्ध हुनेछ । एकदेखि दुई वर्ष पुराना उपकरणमा ८० प्रतिशत तथा दुईदेखि पाँच वर्ष वा सोभन्दा पुराना योग्य घरायसी उपकरणमा ७० प्रतिशतसम्म छुट दिइनेछ । मोबाइल फोन तथा ट्याब्लेटतर्फ दुईदेखि चार वर्ष पुराना उपकरणमा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
उपकरणको अवस्था, उमेर र वारेन्टीका आधारमा छुट निर्धारण गरिनेछ । मर्मतका लागि आवश्यक पार्टपुर्जा, श्रम तथा ढुवानी खर्च जोड्दा उपकरणको सिफारिस गरिएको खुद्रा मूल्यको ८० प्रतिशतभन्दा बढी हुने अवस्थामा मर्मतको सट्टा नयाँ उपकरण उपलब्ध गराउने विकल्पमा विचार गर्न सकिने कम्पनीले जनाएको छ । बाढीबाट क्षतिग्रस्त उपकरण पुनः सञ्चालनमा ल्याउन तथा नयाँ उपकरण खरिद गर्नुपर्ने अवस्थाको आर्थिक भार कम गर्न अभियान ल्याइएको कम्पनीको भनाइ छ । योग्य स्मार्टफोन तथा ट्याब्लेट प्रयोगकर्ताले तोकिएका सेवा केन्द्रमा उपकरण ल्याएर जाँच तथा मर्मत सुविधा लिन सक्नेछन् ।