काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकार पक्राउ गर्ने तथा केही पत्रकारको खोजी गर्ने क्रम तीव्र पारेको छ। एकै दिन तीन पत्रकार पक्राउ परेका छन् भने कम्तीमा तीन पत्रकारको खोजी भइरहेको छ। पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराल छन्।
त्यस्तै, प्रहरीले दियोपोस्ट डटकमका प्रधान–सम्पादक सुदीप विश्वकर्मा, सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ। प्रहरीले केही सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ भने केही कार्यालयमा पुगेर पत्रकारको खोजी गरेको छ। सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारको मोबाइलसमेत जाँच गरेको घटनाले प्रेस स्वतन्त्रता, समाचार स्रोतको गोपनीयता र पत्रकारको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको छ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरस्थित नेपाल प्रेस डटकमको कार्यालयबाट पत्रकार सुवेदीलाई पक्राउ गरेको हो। कार्यालयमा काम गरिरहेका बेला सादा पोसाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेर लगेको र त्यसपछि साइबर ब्युरोमा बुझाइएको बताइएको छ।
प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको जनाएको छ। तर उनीमाथि लगाइएको आरोप तथा पक्राउको कानुनी आधारबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। त्यस्तै, डिएनए खबरका प्रधान–सम्पादक बस्नेतलाई प्रहरीले सुरुमा ‘इसेवा नम्बरको विषयमा बुझ्नुछ’ भन्दै फोन गरेको थियो। सामान्य सोधपुछका लागि बोलाइएको ठानेर प्रहरी कार्यालय पुगेका बस्नेतलाई त्यहीँ नियन्त्रणमा राखिएको हो।
मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराल पनि प्रहरी नियन्त्रणमा छन्। तर प्रहरीले बस्नेत र बराललाई कुन कसुरमा नियन्त्रणमा लिएको हो भन्ने स्पष्ट जानकारी दिएको छैन।
दियोपोस्टको कार्यालयमा प्रहरी, पत्रकारका मोबाइल जाँच
यसैबीच, प्रहरीले अनामनगरस्थित दियोपोस्ट डटकमको कार्यालयमा पुगेर प्रधान–सम्पादक विश्वकर्मा र सम्पादक बुढाथोकीको खोजी गरेको छ। शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर कमलजंग शाहीको कमान्डमा चार सदस्यीय प्रहरी टोली दियोपोस्टको कार्यालय पुगेको हो।
दियोपोस्टका समाचार संयोजक मदन ढुंगानाका अनुसार प्रहरी टोली कार्यालय परिसरमा प्रवेश गरेको थियो। टोलीले कार्यालयमा कार्यरत पत्रकारहरूको मोबाइलसमेत नियन्त्रणमा लिएर हेरेको जानकारी आफूले पाएका छन्।
‘प्रधान सम्पादक र सम्पादक बाहिर छौं। अफिसमा चार जना प्रहरीको टोली आएको र साथीहरूको मोबाइल हेरिरहेको भनेर भन्नुभएको छ,’ ढुंगानाले बताएका छन्। सम्पादक बुढाथोकीका अनुसार यसअघि उनलाई र प्रधान–सम्पादक विश्वकर्मालाई फोन गरेर ठेगाना सोधिएको थियो। ठेगाना सोध्ने व्यक्तिको व्यवहार भने आफूलाई शंकास्पद लागेको उनले बताएकी छन्।
नयाँ पत्रिकामा पनि पत्रकारको खोजी
प्रहरी टोली नयाँ पत्रिकाको समाचार कक्षमै पुगेर पत्रकार नवराज मैनालीको समेत खोजी गरेको छ। एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने तथा खोजी गर्ने क्रम चले पनि यी घटनाबीच आपसी सम्बन्ध छ वा छैन भन्ने स्पष्ट भएको छैन।
प्रहरीले कुन पत्रकारलाई कुन घटनामा अनुसन्धान गर्न खोजेको हो, उनीहरूविरुद्ध उजुरी परेको छ वा छैन र पक्राउ तथा खोजीका लागि के कानुनी आधार प्रयोग गरिएको हो भन्नेबारे पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन।
प्रहरीको चेतावनीपछि पत्रकारमाथि धरपकड
यसअघि बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्वबारे प्रकाशित समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै भ्रामक सूचना सम्प्रेषण गर्नेमाथि अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो।
प्रहरीले विज्ञप्तिमार्फत पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा असर पर्न सक्ने जनाएको थियो।तर शुक्रबार विभिन्न सञ्चारमाध्यमका पत्रकारमाथि भएको पक्राउ तथा खोजीको घटना उक्त चेतावनीसँग सम्बन्धित हो वा छुट्टाछुट्टै अनुसन्धानको क्रममा भएको हो भन्ने प्रहरीले स्पष्ट पारेको छैन।
‘प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास निन्दनीय’
नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन्।उनले प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास भइरहेको टिप्पणी गर्दै अन्य पत्रकारको समेत खोजी भइरहेको जानकारी आएको बताएका छन्।
महरले यस्तो कार्यलाई राज्यद्वारा सञ्चालित हुर्मत लिने प्रयासको संज्ञा दिँदै लोकतन्त्रको बर्खिलापमा हुने नियोजित सबै कार्य निन्दनीय रहेको बताएका छन्।
पत्रकारमाथिको धरपकड रोक्न जेन–जी पत्रकार फोरमको माग
पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमका कार्यालयमा पुगेर पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिप्रति जेन–जी पत्रकार फोरम नेपालले पनि आपत्ति जनाएको छ।शुक्रबार विज्ञप्ति जारी गर्दै फोरमले समाचारको विषयलाई लिएर पत्रकारमाथि भइरहेको धरपकड प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको जनाएको छ।
‘समाचारको विषयमा चित्त नबुझे त्यसको खण्डन गर्ने, कानुनी उपचार खोज्ने र स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी कानुनी प्रक्रियाको अवलम्बन गर्ने बाटो हुँदाहुँदै प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्ने र कार्यालयमै पुगेर खोजी गर्ने कार्य कदापि स्वीकार्य हुन सक्दैन,’ फोरमले भनेको छ।
फोरमले नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको स्मरण गराएको छ।त्यस्तै, संविधानको धारा २० अनुसार पक्राउ परेका व्यक्तिलाई पक्राउको कारण जानकारी गराउनुपर्ने तथा कानुन व्यवसायीसँग परामर्श लिन पाउने अधिकार सुनिश्चित गरिएको भन्दै कानुनी प्रक्रिया पूरा नगरी पत्रकारमाथि धरपकड गर्न नहुने जनाएको छ।
‘समाचारमा उठाइएका विषयको छानबिनका नाममा पत्रकारलाई त्रसित बनाउने, कार्यालयमै पुगेर पक्राउ गर्ने र समाचार लेखेकै आधारमा अपराधी जसरी व्यवहार गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुँदैन,’ फोरमले भनेको छ। फोरमले पत्रकारहरूलाई निर्भीकतापूर्वक काम गर्ने वातावरण सुनिश्चित गर्न नेपाल सरकार र नेपाल प्रहरीसँग माग गरेको छ।
‘प्रेस स्वतन्त्रता पत्रकारको मात्रै सरोकार होइन। यो लोकतन्त्र, नागरिकको सूचनाको हक र राज्यको जवाफदेहितासँग जोडिएको विषय हो। यसको संरक्षण गर्नु राज्यको दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ।