नयाँदिल्ली । भारतले विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले आयोजना गरेको लोकतन्त्र सम्मेलनमा सहभागी हुन आउने ११५ जना अन्तर्राष्ट्रिय वक्तालाई प्रवेश अनुमति दिएको छैन। काङ्ग्रेसका वरिष्ठ नेता तथा सांसद शशि थरुरले शुक्रबार यसबारे जानकारी दिएका हुन्।
थरुरका अनुसार भारतको विदेश मन्त्रालयले सुरुमा ३१५ जना अन्तर्राष्ट्रिय वक्तालाई सम्मेलनमा सहभागी हुन अनुमति दिएको थियो। तर, पछि तीमध्ये ११५ जनाको प्रवेश अनुमति रोकिएको वा भिसा रद्द गरिएको छ। यो निर्णय सम्भवतः गृह मन्त्रालयको निर्देशनमा भएको उनले बताएका छन्।
प्रवेश अनुमति नपाउनेमा नर्वेकी पत्रकार हेले लिङ पनि छिन्। उनले यसअघि गत मे महिनामा नर्वेको राजधानी ओस्लोमा आयोजित पत्रकार सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रेस स्वतन्त्रताका विषयमा प्रश्न गरेकी थिइन्। उनलाई लोकतन्त्र सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रतासम्बन्धी विषयमा धारणा राख्न आमन्त्रण गरिएको थियो। तर, भारत प्रस्थान गर्नुअघि बुधबार उनको भिसा रद्द गरिएको थियो।
यस घटनाप्रति असन्तुष्टि जनाउँदै थरुरले सामाजिक सञ्जाल एक्समा सरकारले कुन कानुनी प्रावधानअन्तर्गत यस्तो निर्णय गरेको हो भन्ने स्पष्ट नभएको बताएका छन्।उनले आलोचनात्मक आवाजलाई दबाउनुपर्ने अवस्थामा पुगेको लोकतन्त्रका लागि यो लज्जास्पद विषय भएको टिप्पणी गरेका छन्।
यसैबीच, ‘एडिटर्स गिल्ड अफ इन्डिया’ले पनि भारत सरकारको कदमको निन्दा गरेको छ। गिल्डले यसलाई ‘प्रशासकीय अतिचार’ को संज्ञा दिँदै निर्णयको कारण सार्वजनिक गर्न र प्रवेश अनुमति रोक्ने निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको छ।शुक्रबार हैदराबादमा सुरु भएको दुईदिने लोकतन्त्र सम्मेलनमा ७० भन्दा बढी देशका करिब एक हजार प्रतिनिधि सहभागी भएका छन्। सम्मेलनमा लोकतन्त्र, जलवायु परिवर्तन, कृत्रिम बुद्धिमत्ता ९एआई० तथा विश्वव्यापी सहकार्यलगायतका विषयमा छलफल हुने कार्यक्रम छ।यस घटनाबारे प्रतिक्रिया माग्दै समाचार संस्था एएफपीले गरेको अनुरोधमा भारतको विदेश मन्त्रालयले तत्काल कुनै जवाफ दिएको छैन।