काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा दिगो शान्ति, सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत मुलुकको समृद्धिको लक्ष्य हासिल गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
नेपालको संविधानले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतालाई समान संरक्षण प्रदान गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपालीबीच कायम आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने कुनै पनि गतिविधि नहुने विश्वास व्यक्त गरेका छन् ।
उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणको लक्ष्य लिएको स्मरण गराउँदै संविधानले प्रत्याभूत गरेका राज्यबाट प्राप्त हुने सेवा तथा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएका छन् । साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा उनले जोड दिएका छन् ।
राष्ट्रपति पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै कठिन परिस्थितिमा बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।
यसैबीच, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि संविधान दिवसका अवसरमा शुभकामना दिँदै संविधानको मूल मर्मअनुसार समावेशिता, समानता, जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व तथा साझा भविष्यप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
उपराष्ट्रपति यादवले नेपालको संविधान नेपाली जनताको दीर्घ सङ्घर्ष, मुलुकको विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन् ।उनले पछिल्लो समय संविधानकै चौतारोभित्र रहेर सामाजिक आन्दोलनहरूको सम्बोधन तथा सङ्क्रमणकालीन व्यवस्थाहरूको गठन हुनुले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुनः पुष्टि गरेको बताएका छन् ।