सर्लाही, जलवायु परिवर्तन तथा अतिक्रमणको चपेटामा परेर तराईमा पानीको प्राकृतिक स्रोत क्रमशः सुक्दै जान थालेको छ । पानीको मुहान र जैविक संरचनामाथि मानवीय अतिक्रमणले समस्या मात्रै उत्पन्न गरेको छैन, वातावरण संरक्षणमा चुनौती थपिएको छ । पानीको स्रोत सुक्दै जाँदा मानव जीवन नै सङ्कटमा पर्दै गएको पूर्वसङ्केत देखापर्न थालेको छ ।
सर्लाहीको बागमती नगरपालिका–९, तेजपुरका भुवन निरौलालाई पछिल्ला केही वर्षदेखि सोती खोलामा बढेको अतिक्रमणको चिन्ताले सताउन थालेको छ । उनको घरबाट सय मिटरको दूरीमा एकदशक पहिलेसम्म फराकिलो सिमसार क्षेत्र थियो । झण्डै १६ बिघामा फैलिएको सिमसार अर्थात् सोतीको मुहान आज अतिक्रमणले हराइसकेको छ ।
“यहाँ ठूलो सिमसार क्षेत्र थियो”, उनले स्मरण गर्दै भने, “वर्षातको पानी जम्मा भएर पोखरी बनेर बस्थ्यो । हिउँदभरि भूमिगत (जरुवा) पानी निस्किएर सोती बग्थ्यो । अहिले त्यो सिमसार छैन । पानी त कहाँबाट आउनु । अहिले खोला सुकिसकेको छ”, उनले रासससँग भने ।
अतिक्रमित मुहान क्षेत्रबाट डेढ किलोमिटर बगेपछि सोती बरहथवा नगरपालिका प्रवेश गर्छ । विगतमा फराकिलो हिसाबले बगेको सोतीलाई बरहथवा क्षेत्रमा अहिले दुवैतर्फबाट माटो, ढुङ्गा र ग्राभेल हालेर पुर्नेक्रम तीव्र बनेको छ । जसले नदीको मौलिकस्वरुप मात्र बदलिएको छैन । जैविक विविधता हराउँदै गएको छ ।
आफूले थाहा पाउँदासम्म कलकल बग्ने सोतीको सफा पानी स्थानीयले पिउन प्रयोग गर्ने गरेको बरहथवा नगरपालिक–९, मूर्तिया निवासी विश्वनाथ महतोले बताए ।
“यो सोती देख्दा आज रोइरहेको भान हुन्छ”, उनले भने, “हाम्रो धार्मिक आस्था । खोलाको जैविक विविधता माथि निरन्तर आक्रमण भइरहेको छ । हामीले यसैमा डुबुल्की मार्दै बालापन बिताएका हौँ । केही वर्ष पहिलेसम्म पशुबस्तु नुहाउनेदेखि भात भान्सासम्म यसैको भर थियो । अहिले हरेक वर्ष सोतीको सतह घट्दै गएको छ । आकार खुम्चँदै गएको छ ।”
सोती खोलालाई स्थानीयले माईका रुपमा पुज्ने परम्परा रहेको उनले जानकारी दिए । वर्षमा दुई पटक यसै नदीमा निराहार व्रत बसेर छठ पर्व मनाउने गरिन्छ । विगत केही वर्षयता सोतीको मुहानदेखि झण्डै चार किलोमिटरका क्षेत्रमा पानी पलाउनेक्रम क्रमशः बन्द हुँदै गएको स्थानीयको अनुभव छ । जरुवा पानीको मुहान भएकाले गर्मीमा चिसो र जाडोको समयमा तातो हुनु सोतीको विशेषता थियो ।
अतिक्रमणका कारण पानीको स्रोत कम हुँदै गएको सोती खोलाले आफ्नो जैविक स्वभाव परिवर्तन गर्दै गएको स्थानीयको अनुभव छ । खोलाको प्राकृतिक स्वरुपमा बाधा पुर्याइएकामा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । तैपनि, अनेक बहानामा खोला माथिको थिचोमिचो नरोकिएको स्थानीय युवा सोनुकुमार यादवको गुनासो छ । झिँगे, बामलगायतका माछा र पौष्टिक आहारका रुपमा प्रयोग हुने घुँगीलगायत जलचर सोतीसँगै चपेटामा छन् ।
सिमसार पानीको मुहान रहेको खोला बागमती नगरपालिका–९, बाट सुरु भएर बरहथवा नगरपालिका, बसवरिया गाउपालिका, धन्कौल गाउँपालिका, रामनगर गाउँपालिका हुँदै बलरा नगरपालिका पुगेर वाग्मती नदीमा मिसिन्छ । खोलाले यहाँका हजारौँ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पु¥याएको छ । अतिक्रमण पछि सङ्कटमा परेको सोतीसँगै भोलिका दिनमा आधा दर्जन पालिकाका उर्वर भूमि सिँचाइ अभावले बन्जर बन्ने जोखिम बढेको छ ।
खोलामा एक दर्जन बाँध बाँधिएको छ । जसबाट नहर निर्माण गरी खेतका बाह्रै महिना सिँचाइको व्यवस्था गरिएको छ । खोलामा पानीको सतह कम हुँदा सिँचाइका लागि पानीको अभाव हुन थालेको छ । पानीको अभावका कारण स्थानीय किसानका बीचमा विवाद हुने गरेको बरहथवा नगरपालिका–८, टाडीका विक्रम यादवले सुनाए । वर्षात सुरु भएपछि मात्रै नदीमा केही समय पानी बग्ने गरेको उनले उल्लेख गरे ।
सोतीको पानी बरहथवाको टाँडी बाँध, सोती खोला सिँचाइ बाँध, हिरापुर ब्यारेज, मानपुर ब्यारेज, रामनगर ब्यारेज, मनुसमारा बाँध र सुदामा ब्यारेजमा थुनेर नहरमा र कुलोमा हाल्ने गरिएको छ । अन्य स्थानमा ससाना बाँध बाँधेर सिँचाइको व्यवस्था गरिएको छ । केही बाँधमा बाह्रै महिना पानी रहने गरेको भए पनि केही बाँध हिउँद सुरु भएपछि खण्डहर बन्ने गरेको स्थानीयको भनाइ छ ।
खोलामा पानी कम हुँदै गएपछि पछिल्लो तीन वर्षदेखि खेतमा डिप बोरिङ गरेर पानी पटाउने गरेको यादवले सुनाए । नजिकै खोला भएपनि रातभरि जाग्राम बसेर डिप बोरिङबाट पानी पटाउनुपर्ने अवस्थामा किसान पुगेका छन् ।
जलचर प्राणीको बासस्थान, वनस्पति, जीव, जनावरसँगै मानिसको प्राण पानी बग्ने खोला बचाउनेतर्फ कसैको ध्यान नगएकामा उनी चिन्तित छन् । सोती खोला बरहथवा नगरपालिकाको बीच भागबाट बगेको निकास (ड्रेन)समेत हो । वर्षातमा बरहथवा नगर क्षेत्रमा परेको पानीलाई खोलाले निकास दिन्छ ।
जैविक, वातावरणीय, धार्मिकलगायतको अस्तित्व नै सङ्कटमा पर्नेगरी खोला किनारमा विभिन्न गतिविधि भइरहेको छ । जरुवा पानी निस्कने ठाउँमा पार्क, धर्मशाला, विभिन्न जात र समुदाय विशेषका सार्वजनिक भवन निर्माण भएका छन् । खोला अतिक्रमण रोक्न पालिकाले करिडोर निर्माण गरेको बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिए ।
यसरी निर्माण गरिएको करिडोरका कारण खोला अतिक्रमण रोकिने र संरक्षण हुने उनको भनाइ छ । खोला किनारमा पालिकासँग समन्वय नै नगरी प्रदेश र सङ्घीय सरकारले योजना पठाएर समस्यामा पारेको उनको कथन छ ।
“खोला किनारमा तारजाली गर्नुप¥यो, बाटो बनाउनुपर्यो, खाली जमिनमा सार्वजनिक भवन बनाउनुपर्यो भन्दै आउनुहुन्छ”, प्रमुख कटुवालले भने, “रोकौँ गर्न दिएन भन्नुहुन्छ । विरोध हुन्छ । हामीसँग प्रदेश र सङ्घीय सरकारले समन्वय नै गर्नुहुन्न । संरचना निर्माण भइसकेपछि मात्र थाहा हुन्छ । हामीले के गर्नु ?”
बरहथवा नगरपालिकाको नदी किनारमा फनपार्क, सार्वजनिक भवन र खुला व्यायामशाला निर्माण भएको छ । खोला संरक्षण, छठ घाटलगायतका शीर्षकमा सोतीको मौलिकता र विशेषताको वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी कङ्क्रिट ढलान गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले प्राकृतिक स्रोत, धार्मिक सम्पदा, जैविक विविधताको संरक्षण र सम्वर्द्धनको जिम्मा स्थानीय सरकारलाई दिएको छ । सोअनुरुप काम हुन नसक्दा वातावरण, जैविक विविधता र वनस्पति सङ्कटमा पर्दै गएको छ ।