सङ्खुवासभा, कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड करिव १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ ।
असोज ६ गते देखि असोज ३० गते सम्म खाँदबारीबाट सभाखोला सम्मको सडकखण्ड कालोपत्रे तथा चौडा गर्न यातायात बन्द गरिएको कार्यालयले जनाएको छ । उक्त सडकखण्डमा बिहान ८ः०० बजे देखि १२ः०० बजे सम्म र दिउँसो १ः०० बजे देखि साँझ ६ः०० बजेसम्म कालोपत्रे सडक चौडा गर्न यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलले बताए ।
सडक डिभिजन कार्यालयले समयमै काम सम्पन्न गर्नको लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको जनाएको छ । निषेधित समयमा यातायातका साधन वैकल्पिक सडक प्रयोग गर्न सक्ने बताइएको छ ।