भक्तपुर, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले सम्पन्न चाँगुनारायण नगरपालिका पछिल्लो समय विकास र समृद्धिको नयाँ यात्रामा अघि बढिरहेको छ । स्थानीय तहको नेतृत्व सम्हालेदेखि नै नगरवासीको आवश्यकता, विकासको प्राथमिकता र दीर्घकालीन समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेका नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा नगरपालिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय काम अगाडि बढाएको छ ।
सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, वातावरण संरक्षण, सामाजिक विकास र प्रशासनिक सुधारजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा नगरपालिकाले थालेका योजना तथा कार्यक्रमले चाँगुनारायणको विकास यात्रालाई नयाँ गति दिएको देखिन्छ । विकासलाई केवल भौतिक संरचना निर्माणमा सीमित नराखी नागरिकको जीवनस्तर उकास्ने, स्थानीय सम्भावनाको उपयोग गर्ने र नगरलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित नगरपालिकाले काम अघि बढाएको छ । कृषि, पर्यटन र सामाजिक पुर्वाधार, समृद्ध चाँगुनारायणको मुल आधार, समृद्ध सस्कृति, दिगो बिकास र समुन्नत चागुँनारायणको आधार भन्ने मुल नारासहित मेयर खत्री बिकास निर्माणका कामहरु अघि बढाएका हुन ।
स्थानीय सरकारको प्रभावकारी सेवाप्रवाहका लागि आवश्यक प्रशासनिक संरचना निर्माणलाई नगरप्रमुख खत्रीले प्राथमिकतामा राखेका छन् । सोहीअनुसार नगरपालिकाको आफ्नै लगानीमा आधुनिक प्रशासनिक भवन निर्माण सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइएको छ । यसले नगरपालिकाको प्रशासनिक कामलाई व्यवस्थित बनाउनुका साथै सेवाग्राहीलाई एउटै स्थानबाट सेवा लिन सहज बनाएको छ । त्यसैगरी वडा नं. १ को कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने अन्य वडामा पनि कार्यालय भवन तथा भौतिक संरचना निर्माणका काम अघि बढाइएका छन् । नगरपालिकाको संस्थागत क्षमता विकास र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने प्रयासले स्थानीय सरकारप्रतिको पहुँच बढाउन सहयोग पुगेको छ ।
चाँगुनारायणको विकासमा सडक पूर्वाधारलाई प्रमुख आधारका रूपमा लिइएको छ । नगरप्रमुख खत्रीको नेतृत्वमा सडक कालोपत्रे, विस्तार, स्तरोन्नति, ढल तथा कल्भर्ट निर्माणका कामले तीव्रता पाएका छन् । कार्यकालको प्रारम्भिक एक वर्षमै ५.८ किलोमिटर सडक कालोपत्रे, ६.४५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति र पाँचवटा कल्भर्ट निर्माण सम्पन्न गरिएको विवरण सार्वजनिक भएको थियो । नगरको दीर्घकालीन यातायात सञ्जालका रूपमा हेरिएको नगरकोट–बागेश्वरी–सुडाल–ताथली सडक अर्थात् चाँगुनारायण फास्ट ट्र्याक निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ । यसले नगरभित्रका विभिन्न बस्तीलाई जोड्नुका साथै स्थानीय उत्पादनको बजार पहुँच, आवागमन र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
वर्षौंदेखि समस्याका रूपमा रहेको दुवाकोट सडक कालोपत्रे गर्ने काम, विभिन्न वडाका ग्रामीण सडकको स्तरोन्नति र नगरका सेवा प्रदायक संस्थासम्म पुग्ने सडक सुधारका कार्यक्रम पनि अघि बढेका छन् भने केही कामहरु सम्पन्न भईसकेका छन् । सडक विस्तार र स्तरोन्नतिका यी कार्यले चाँगुनारायणका ग्रामीण बस्तीलाई नगरको मुख्य सेवा तथा बजारसँग जोड्ने आधार तयार गरेको छ ।
स्वास्थ्य सेवामा नागरिकलाई आफ्नै नगरमा उपचार
स्वास्थ्य क्षेत्रको सुधार नगरपालिकाको अर्को महत्वपूर्ण प्राथमिकता बनेको छ । नगरवासीले सामान्य स्वास्थ्य परीक्षणदेखि अत्यावश्यक उपचारसम्मका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले चाँगुनारायण नगर अस्पतालको सेवा विस्तार र स्तरोन्नतिमा जोड दिइएको छ ।
नगरपालिकाको आफ्नै स्रोतबाट १५ शय्याको सट्टा २५ शय्याको नगर अस्पताल सञ्चालनमा ल्याइएको र २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको नगरप्रमुख खत्रीले सार्वजनिक रूपमा बताएका छन् । अस्पतालमा आकस्मिक सेवा, प्रसूति सेवा, प्रयोगशाला, ओपीडी, एक्सरे, औषधि वितरण, एम्बुलेन्सलगायतका सेवा सञ्चालनमा छन्। निःशुल्क अक्सिजन वितरण, निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था र अस्पताल आउन नसक्ने बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउन सहयोग पुर्याएको छ ।
थाइराइड तथा शरीरमा आवश्यक विभिन्न भिटामिनको परीक्षण सेवा विस्तार हुनु पनि नगर अस्पतालको महत्वपूर्ण उपलब्धि हो । यसले सामान्य परीक्षणका लागि समेत काठमाडौं वा भक्तपुरका ठूला अस्पताल धाउनुपर्ने नागरिकको बाध्यता कम गरेको छ । यसैगरी दुईवटा नयाँ सहरी स्वास्थ्य केन्द्र स्थापना गरी आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ । नगरका स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थाको सेवा गुणस्तर सुधारमा समेत नगरपालिकाले जोड दिँदै आएको छ ।
शिक्षामा लगानी, गुणस्तर सुधारमा जोड
शिक्षा कुनै पनि समाजको दीर्घकालीन विकासको आधार हो भन्ने मान्यतासहित नगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार, शिक्षकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री शिक्षण प्रणाली, अतिरिक्त क्रियाकलाप र विद्यार्थीको सर्वाङ्गीण विकासमा नगरपालिकाले लगानी बढाउँदै आएको छ । सामुदायिक विद्यालयका बालविकासदेखि कक्षा छ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने कार्यक्रमलाई थप प्रभावकारी बनाइएको छ । नगरप्रमुख खत्रीका अनुसार सरकारले उपलब्ध गराउने दिवा खाजा रकममा नगरपालिकाले शतप्रतिशत थप गरी बालबालिकाको पोषणमा सुधार ल्याउने प्रयास गरेको छ ।
शिक्षक शिक्षण सहायता कार्यक्रमअन्तर्गत शिक्षक अनुदान कोटा उपलब्ध गराउने, शिक्षक तथा बालविकास सहजकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने, विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने काम पनि अघि बढाइएको छ । विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी वक्तृत्वकला, चित्रकला, निबन्ध, हाजिरीजवाफ, नृत्य, साहित्य, खेलकुद तथा स्काउटजस्ता गतिविधिमा सहभागी गराउने कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामार्फत खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा पनि नगरपालिकाले जोड दिएको छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक अनुगमन र परीक्षा प्रणालीलाई व्यवस्थित बनाउने प्रयासले सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यलाई बल पु¥याएको छ ।
कृषकको प्रोत्साहन र स्थानीय उत्पादनको प्रवर्द्धन
चाँगुनारायणको आर्थिक समृद्धिमा कृषि तथा पशुपालनको महत्वपूर्ण भूमिका रहेको तथ्यलाई आत्मसात् गर्दै नगरपालिकाले कृषकलाई उत्पादनसँग जोड्ने कार्यक्रम सञ्चालन गरेको छ ।
युवा स्वरोजगार कार्यक्रमअन्तर्गत कृषकलाई तरकारी उत्पादन तथा बजारीकरणमा अनुदान, फलफूलका बिरुवा वितरण, सिँचाइ कुलो निर्माण तथा मर्मतमा सहयोग, कृषि मल उपलब्धता र आधुनिक कृषि उपकरण वितरणजस्ता कार्यक्रम सञ्चालन गरिएका छन् ।
पशुपालनलाई व्यावसायिक बनाउन बोयर जातका बोका वितरण, काउम्याट, मिल्क क्यान तथा भुसा काट्ने मेसिनमा अनुदान, पशु बीमा सहजीकरण, कृत्रिम गर्भाधान र पशु स्वास्थ्य उपचार कार्यक्रम अघि बढाइएको छ । पशुमा लाग्ने विभिन्न संक्रामक रोगविरुद्ध खोप अभियान सञ्चालन गर्नुका साथै सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । यसले कृषकको उत्पादन लागत घटाउने, पशुधनको संरक्षण गर्ने र कृषि तथा पशुपालनलाई रोजगारी एवं आयआर्जनको दिगो माध्यम बनाउने लक्ष्य राखेको छ ।
पर्यटन र सम्पदा संरक्षणमा नयाँ सम्भावना
चाँगुनारायण आफैँमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र हो। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, नगरकोटको प्राकृतिक सौन्दर्य, बागेश्वरी क्षेत्र तथा अन्य सांस्कृतिक सम्पदालाई नगरको आर्थिक विकाससँग जोड्ने प्रयास नगरपालिकाले गरेको छ ।
भूकम्पबाट क्षतिग्रस्त चाँगुनारायण मन्दिरको पुनर्निर्माण तथा संरक्षणका कामलाई अघि बढाइएको छ। मन्दिरसम्म पुग्ने अपाङ्गमैत्री पदमार्ग निर्माणको सुरुवात हुनु सम्पदामा सबैको सहज पहुँच स्थापित गर्ने सकारात्मक प्रयास हो । नगरकोट भ्रमण वर्ष–२०८२ लाई विशेष अभियानका रूपमा अघि बढाउँदै नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, स्थानीय व्यवसाय प्रवद्र्धन गर्ने, होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउने र स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।
नगरकोटको प्राकृतिक सौन्दर्यलाई चाँगुनारायणको ऐतिहासिक तथा सांस्कृतिक सम्पदासँग जोड्न सके नगरपालिकाको आर्थिक विकासमा पर्यटन महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ ।
वातावरण संरक्षणमा दूरदर्शी पहल
विकाससँगै वातावरणीय सन्तुलन कायम राख्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै चाँगुनारायण नगरपालिकाले वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गरी सार्वजनिक गरेको छ ।
नागरिक, इँटा उद्योगी, सार्वजनिक यातायात व्यवसायी, विद्यालय, स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा संलग्न संस्था तथा सरोकारवालासँग छलफल र सुझाव संकलन गरेर तयार गरिएको उक्त कार्ययोजनाले प्रदूषण नियन्त्रण र स्वच्छ वातावरण निर्माणमा स्थानीय सरकारको सक्रियता देखाएको छ ।
वायु गुणस्तर व्यवस्थापन कार्ययोजना सार्वजनिक गर्ने पहिलो नगरपालिका बनेको दाबीसमेत सार्वजनिक भएको छ । यसले विकास र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने नगरपालिकाको सोचलाई प्रतिबिम्बित गरेको छ ।
सुशासन, न्याय र नागरिकमैत्री सेवा
स्थानीय तहलाई जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित गर्न नगरपालिकाले सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवाप्रवाहलाई पनि प्राथमिकता दिएको छ ।
न्यायिक समितिमार्फत स्थानीय विवाद समाधान, मेलमिलापकर्ताको परिचालन, निःशुल्क कानुनी लिखत मस्यौदा र विपन्न नागरिकलाई न्यायिक प्रक्रियामा सहज पहुँच उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाले भू–उपयोग वर्गीकरण, विपद् तथा जोखिममा रहेका बस्तीको अभिलेखीकरण र स्थानीय कानुन तथा कार्यविधि निर्माणमा समेत काम गरेको छ ।
विकास निर्माणका योजनालाई आर्थिक वर्षको सुरुदेखि नै कार्यान्वयनमा लैजाने र बजेट खर्चलाई प्रभावकारी बनाउने अभ्यासले नगरपालिकाको कार्यसम्पादनमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा कुल बजेटको ८१ दशमलव २६ प्रतिशत खर्च गर्दै काठमाडौं उपत्यकाका २१ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको तथ्यले पनि विकास योजनाको कार्यान्वयनमा देखिएको सक्रियतालाई उजागर गरेको थियो ।
जनताको अपेक्षा र विकासको निरन्तरता
नगरप्रमुख जीवन कुमार खत्रीको नेतृत्वमा चाँगुनारायण नगरपालिकाले अघि बढाएका यी कार्यक्रमले विकासलाई बहुआयामिक रूपमा अगाडि बढाउने प्रयास गरेको देखिन्छ । प्रशासनिक संरचनाको विकासदेखि नागरिकको स्वास्थ्य, शिक्षादेखि कृषि, सडकदेखि पर्यटन र वातावरण संरक्षणसम्मका क्षेत्रमा काम हुनु नगरको समग्र विकासका लागि सकारात्मक पक्ष हो ।
यद्यपि विकासको यात्रा निरन्तर सुधार र नागरिकको अपेक्षा पूरा गर्ने प्रक्रियासँग जोडिएको हुन्छ । निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्ने, सेवाको गुणस्तर कायम राख्ने, बजेटको प्रभावकारी उपयोग गर्ने र सबै वडाका नागरिकले समान रूपमा विकासको अनुभूति गर्न सक्ने वातावरण बनाउनु नगरपालिकाका आगामी चुनौती र जिम्मेवारी हुन् ।
विकासको वास्तविक सफलता योजनाको संख्या वा बजेट खर्चमा मात्र होइन, त्यसबाट नागरिकको दैनिक जीवनमा आएको सकारात्मक परिवर्तनमा मापन हुन्छ । यही मर्मलाई आत्मसात् गर्दै चाँगुनारायण नगरपालिकाले विकासका योजनालाई परिणाममुखी बनाउन सके ऐतिहासिक पहिचान बोकेको यो नगर आधुनिक, व्यवस्थित, समृद्ध र नागरिकमैत्री सहरका रूपमा स्थापित हुने सम्भावना बलियो छ ।
समग्रमा, नगरप्रमुख खत्रीको नेतृत्वमा अघि बढेका विकास निर्माण, सामाजिक सेवा र संस्थागत सुधारका प्रयासले चाँगुनारायणको समृद्धिको आधार तयार गर्ने काम गरिरहेका छन् । अब यी प्रयासलाई अझ प्रभावकारी, पारदर्शी र दिगो बनाउँदै नगरवासीको विश्वास र अपेक्षालाई व्यवहारमै रूपान्तरण गर्नु नै नेतृत्वको सबैभन्दा महत्वपूर्ण उपलब्धि हुनेछ ।