काठमाडौं, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लक्ष्मीपूजाको अवसर पारेर नयाँ ‘आईएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले लोयल्टी बोनससहितको नयाँ बीमा योजना बजारमा ल्याएको हो ।
बचत र जीवन सुरक्षालाई एकसाथ समेट्ने उद्देश्यले ल्याइएको यस योजनाले बीमालेखको निर्धारित अवधिसम्म निरन्तरता दिने बीमितलाई लोयल्टी बोनसमार्फत थप लाभ प्रदान गर्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत बीमा अवधि समाप्त हुँदासम्म बीमित जीवित रहेमा बीमांक रकम, बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त हुनेछ। बीमा अवधिभित्र बीमितको मृत्यु भएमा भने नियमानुसार बीमांक रकम, बोनस र लोयल्टी बोनस भुक्तानी गरिनेछ । यस योजनाका प्रमुख विशेषतामा सहज बीमाशुल्क भुक्तानी, बोनस तथा लोयल्टी बोनस, बीमालेख धितोमा कर्जा सुविधा, प्रचलित कानुनअनुसार कर छुट तथा आकर्षक परिपक्वता लाभ रहेका छन् । यो योजना १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले खरिद गर्न सक्नेछन् । बीमा अवधि १० देखि २५ वर्षसम्म रहनेछ भने न्यूनतम बीमांक रकम २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, पूरक करार सुविधाअन्तर्गत दुर्घटना मृत्यु लाभ, बीमाशुल्क मिनाहा, आम्दानी सुविधा, एकमुष्ट भुक्तानी तथा काजक्रिया खर्चजस्ता थप सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
योजना सार्वजनिक गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बीमितलाई दीर्घकालीन बचत र जीवन सुरक्षासँगै थप लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए । बीमालेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्दै बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न योजनाले सहयोग पु¥याउने उनको विश्वास छ । कम्पनीले यस योजनामार्फत ग्राहकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्दै जीवन बीमाको पहुँच विस्तार र बीमा क्षेत्रको दिगो विकासमा योगदान पुग्ने अपेक्षा गरेको छ ।
थप जानकारीका लागि नजिकैको आईएमई लाइफ शाखा कार्यालय, बीमा अभिकर्ता वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।