महोत्तरी, कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चार दिनसम्म मनाइने यस छठ पर्वका तयारीमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्तीमा स्थानीयवासी जुटेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता) को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ ।
मिथिला क्षेत्रका घरघरमा आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप छठका गीत गुञ्जिन थालेका छन् । स्थानीयवासी पर्वको तयारीका लागि नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् ।
खासगरि युवाहरु छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् । छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्व केन्द्रित बनेको छ । मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् ।
यसैगरी केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो । छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ ।
प्रसाद बनाउन चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ। घरघरमा छठको प्रसाद ठकुवा र भुसुवा बनाउन गृहिणीहरु व्यस्त छन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मिथिलामा चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।