काठमाडौं, बीमा क्षेत्रमा देखिएका विवाद समाधान गरी बीमितलाई न्याय दिलाउने जिम्मेवारी पाएको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा उजुरीको चाङ लाग्दै गएको छ । प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमास (साउन–असोज)मा जम्मा ९४ वटा उजुरी मात्रै फछ्र्यौट भएको छ । तर, यही अवधिसम्म फछ्र्यौट हुन बाँकी उजुरीको संख्या दुई सय ९९ पुगेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको पहिलो तीन महिनामा फैसला र आपसी सहमतिका आधारमा ९४ वटा उजुरी टुंग्याइएको हो । जसमध्ये ७५ वटा उजुरी फैसलामार्फत र १९ वटा उजुरी सहमतिका आधारमा फछ्र्यौट भएका छन् । तर, यस अवधिमा प्राधिकरणमा कुल तीन सय ९३ वटा उजुरी दर्ता भएको तथ्यांकले उजुरी व्यवस्थापनको चुनौती झन् बढ्दै गएको देखिएको छ ।
प्राधिकरणका अनुसार कुल उजुरीमध्ये तीन सय १९ वटा गत आव २०८२/०८३ बाट जिम्मेवारी सरेर आएका हुन् । चालू आवको असोज मसान्तसम्म केन्द्रीय कार्यालयमा ५४ वटा र प्रदेश कार्यालयमा २० वटा गरी थप ७४ वटा उजुरी दर्ता भएका छन् । यसरी गत आवका र चालू आवका उजुरी जोड्दा तीन सय ९३ वटा पुगेका हुन् । तीमध्ये ९४ वटा फछ्र्यौट भए पनि अझै दुई सय ९९ वटा उजुरी निर्णयको पर्खाइमा छन् ।
प्राधिकरणका अनुसार उजुरी फछ्र्यौटको समस्या चालू आवमा मात्र देखिएको होइन । गत आव २०८२/०८३ मा पनि प्राधिकरणमा कुल छ सयवटा उजुरी परेका थिए । तर, वर्षभरिमा जम्मा दुई सय ८१ वटा उजुरीमात्रै फछ्र्यौट भएका थिए । यसअनुसार गत आर्थिक वर्षको उजुरी फछ्र्यौट दर करिब ४६ दशमलव आठ प्रतिशत अर्थात् ४७ प्रतिशतभन्दा कम रहेको देखिन्छ । बाँकी उजुरी नयाँ आर्थिक वर्षमा जिम्मेवारी सर्दै आएका थिए ।