घोराही (दाङ), यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन् । पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन् ।
दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ । उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक हुनुपर्ने किसानहरूको माग छ । किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने हो भने दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।
किसानबाट न्यून मूल्यमा दूध खरिद गर्ने डेरी तथा व्यवसायीले उपभोक्तालाई महँगोमा बिक्री गर्दा उत्पादनकर्ता र उपभोक्ता दुवै प्रभावित भएका छन् । घोराही उपमहानगरपालिका–२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन् । उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने गरेको छ भने बाँकी दूध घरघरमा उपभोक्तालाई बिक्री गर्दै आएको बताउँछन् ।
खनालका अनुसार डेरीलाई दूध बिक्री गर्दा भैँसीको दूधको प्रतिलिटर रु ७५ भन्दा बढी मूल्य पाउने अवस्था छैन । गाईको दूधको मूल्य भने प्रतिलिटर रु. ६५ मूल्य पाउने गरेको छ । तर, त्यही दूध डेरी व्यवसायीले उपभोक्तालाई प्रतिलिटर एक सय सम्ममा बिक्री गर्ने गरेका छन् । गाई र भैँसीको दूध छुट्टाछुट्टै उत्पादन लागत भए पनि उपभोक्ताले भने दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उनले राससलाई बताए । “मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइँदैन,” उनले भने ।
दूध उत्पादनमा लाग्ने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारलगायतको खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य सोही अनुसार वृद्धि हुन नसकेको उनले बताए । उत्पादन लागत बढ्दै जाँदा किसानको आम्दानी घट्ने अवस्था आएको उनको भनाइ छ । किसानको लागत बढे पनि दूधको मूल्यमा अपेक्षित वृद्धि नभएको अवस्थामा डेरी व्यवसायीले भने दूधबाट उत्पादन हुने दही, पनिर र घीउको मूल्य बढाएका छन् । व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेका हुन् । लागत वृद्धि भएको कारण देखाउँदै ती वस्तुको मूल्य बढाएको जनाएका छन् ।
हाल दही प्रतिलिटर रु. १४०, पनिर प्रतिकिलो रु. ९०० र घीउ प्रतिकिलो रु. एक हजार ४५० बनाएका छन् । घोराहीका एक कृषकले प्रतिलिटर रु. ७० देखि ७५ सम्ममा दूध बिक्री गर्ने गरेको बताउँछन् । आफैँले मोटरसाइकलमा सम्बन्धित स्थानसम्म दूध पुर्याउने भएकाले प्रतिलिटर रु. ७५ सम्म मूल्य पाउने गरेको उनको भनाइ छ । तर, दूध बजारसम्म पुर्याउँदा हुने यातायात खर्च, समय र श्रमका कारण वास्तविक आम्दानी अझ कम हुने गरेको बताए ।
लगानी र श्रम गरे पनि मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर रहेको किसानको गुनासो छ । पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत बढ्दै गए पनि दूधको मूल्य भने लागतअनुसार समायोजन हुन नसकेको उनीहरूको भनाइ छ ।
किसानहरूले दुधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पुर्याउँदा लाग्ने खर्चको पनि मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन् ।