काठमाडौं, नेपाली राजदूतावास दोहाले वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणलाई औपचारिक माध्यमबाट नेपाल पठाउन प्रोत्साहित गर्ने तथा हुन्डी नियन्त्रण र वित्तीय समावेशीकरणका विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावलको नेतृत्वमा कतार आएको प्रतिनिधिमण्डलको सहकार्य र समुपस्थितिमा राजदूतावासको बैठक हलमा आयोजित कार्यक्रममा विप्रेषणलाई सुरक्षित, सहज र औपचारिक माध्यमबाट नेपाल पठाउने उपायबारे छलफल गरिएको हो ।
कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव देवराज जोशीले ‘विप्रेषण, हुन्डी र वित्तीय समावेशीकरण’ विषयमा केन्द्रित प्रस्तुति दिएका थिए । उनले वैदेशिक रोजगारी र विप्रेषणको नेपालको अर्थतन्त्रसँग रहेको सम्बन्धबारे प्रकाश पार्दै रेमिट्यान्सलाई औपचारिक वित्तीय प्रणालीमा आबद्ध गराउन सरकार तथा नेपाल राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्थाबारे जानकारी गराए ।
प्रस्तुतिपछि आयोजित खुला छलफलमा सहभागीहरूले हुन्डीको रोकथाम, औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा भोग्नुपरेका समस्या तथा प्रक्रियागत झन्झटबारे आफ्ना अनुभव साझा गरेका थिए । उनीहरूले विप्रेषण पठाउँदा लाग्ने शुल्क घटाउन, सेवा प्रक्रिया सरल बनाउन र औपचारिक माध्यमबाट रकम पठाउन सहज वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै व्यावहारिक सुझावसमेत प्रस्तुत गरेका थिए ।
छलफलका क्रममा उठेका विषयले नीति निर्माणका लागि महत्वपूर्ण पृष्ठपोषण प्रदान गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर रावलले बताए । नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपालले पनि सहभागीहरूले उठाएका जिज्ञासा तथा विषयहरूलाई सम्बोधन गरेका थिए ।
कार्यक्रमको समापन गर्दै नेपाली राजदूतावास, दोहाका कार्यवाहक राजदूत कुमार राईले सबै नेपालीलाई औपचारिक तथा सुरक्षित माध्यमबाट मात्रै विप्रेषण पठाउन आग्रह गर्नुभयो। उहाँले कार्यक्रमका प्रस्तोता तथा सहभागीहरूलाई धन्यवादसमेत व्यक्त गरेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतार, नेपाल व्यवसायी संघ कतार, कतारस्थित नेपाली बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र राजदूतावासका कर्मचारीहरूको सहभागिता रहेको दूतावासले जनाएको छ ।