दमौली (तनहुँ), नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले सोमबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताएका छन् ।
जनताको अझै पनि कांग्रेसप्रति अपार माया र विश्वास रहेको उल्लेख गर्दै महामन्त्री पौडेलले राष्ट्रिय जिम्मेवारीलाई बिर्सेर पार्टीकै मात्रै विषयमा अल्झिन नहुने धारणा व्यक्त गरे । उनले पार्टीलाई एकताबद्ध बनाउँदै राष्ट्रिय जिम्मेवारी पूरा गर्ने विषयमा पनि उत्तिकै ध्यान दिनुपर्ने धारणा राखे ।
उनले कांग्रेस लोकतन्त्रप्रति जिम्मेवार पार्टीका रूपमा रहेको जिकिर गर्दै कांग्रेसले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताए । जनताले कानुनी राज्यको अनुभूति गर्ने गरी सरकारले काम गर्नुपर्ने उनको भनाइ थियो ।
पौडेलले आफूहरूलाई सत्ताको लोभ नरहेको बताउँदै आगामी स्थानीय र प्रदेश निर्वाचनमा गठबन्धन नगर्ने स्पष्ट पारे । उनले जनताको विश्वास कायम राख्न पार्टीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने धारणा व्यक्त गरे ।