काठमाडौं, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कूटनीतिलाई व्यापार, लगानी र उद्योग विस्तारसँग जोड्नुपर्नेमा जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा उनले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई चलायमान बनाउनुपर्ने बताए । हाल कूटनीतिक नियोग प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित रहेको उनको भनाइ छ ।
निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण, उद्योग विस्तार र नयाँ अन्तर्राष्ट्रिय बजारको खोजीमा कूटनीतिक पहल हुन आवश्यक रहेका बताए । विदेशस्थित नेपाली दूतावास तथा नियोगलाई आर्थिक गतिविधिको सक्रिय केन्द्रका रूपमा विकास गरी सम्बन्धित मुलुकका लगानीकर्ता, व्यवसायी तथा व्यापारिक समुदायसँग प्रत्यक्ष सम्पर्क बढाउनुपर्ने उनले बताए ।
अध्यक्ष अग्रवालले नेपालको कूटनीतिमा नयाँ सोच आवश्यक रहेको उल्लेख गर्दै ‘ट्रेड, इन्भेस्टमेन्ट एन्ड टुरिजम प्रमोसन’ लाई बढावा दिनुपर्नेमा जोड दिए । डिजिटल माध्यमको प्रयोगमार्फत अन्तर्राष्ट्रिय बजारसँग जोडिने तथा विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र सञ्जाललाई समेत नेपालको आर्थिक विकासमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुन लागेको उल्लेख गर्दै उनले त्यसबाट उत्पन्न हुने सम्भावित चुनौतीलाई अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध विस्तार गरी समाना गर्नुपर्नेमा जोड दिए । उनले भारत र चीनसँगको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्दै अन्य मुलुकसँग पनि व्यापारिक सम्बन्ध र निर्यातको दायरा बढाउनुपर्ने बताए । देश आर्थिक रूपमा सबल नभएसम्म राजनीतिक उपलब्धिलाई दिगो बनाउन नसकिने उनको भनाइ छ । उनले उत्पादन, व्यापार, लगानी, रोजगारी र निर्यात विस्तारमा केन्द्रित आर्थिक नीति पनि आवश्यक रहेको बताए ।
अध्यक्ष अग्रवालले रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्ने बताए । नेपालमा उत्पादन लागत उच्च भएकाले नेपाली उद्योगले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको उल्लेख गर्दै उनले सरकारले उत्पादन तथा निर्यात क्षेत्रलाई लक्षित गरी अनुदान तथा सहुलियतको व्यवस्था गर्नुपर्ने बताए । उद्योगको उत्पादन लागत घटाउने, कच्चा पदार्थ तथा आवश्यक वस्तुको आयातलाई सहज बनाउने र निर्यातकर्तालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनको भनाइ थियो ।