पर्वत, प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । दुर्लुङकोट म्याराथन समाजको आयोजनामा असोज ३१ गते म्याराथन आयोजना गर्न लागिएको हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवाहरूलाई खेलकुद र स्वस्थ जीवनशैलीमा जोड्ने उद्देश्यले ‘दौडौं स्वास्थ्यका लागि, जोडौं समाजका लागि, दुर्लुङकोट चिनाऔँ, खेलकुदसँग जोडाऔँ’ भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।
म्याराथन प्रतियोगिता पर्वतको मोदी गाउँपालिकाको पातिचौरबाट सुरु भइ कुश्मा बजार हुँदै दुर्लुङकोट पुगेर टुंगिनेगरी रुट तय गरिएको छ । प्रतियोगितामा देशभरका व्यावसायिक खेलाडी तथा धावकहरुलाई सहभागी हुन आह्वान गरिएको छ । प्रतियोगतामा सहभागी हुन चाहने खेलाडी १७ वर्ष पूरा भएको हुनुपर्ने र असोज २३ गतेसम्म आयोजकलाई सम्पर्क गरी गुगल फारम भरेर आफ्नो नाम दर्ता गर्नुपर्नेछ । नाम दर्ताका लागि एक हजार शुल्क तोकिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी द्वितीय पुरस्कार ६० हजार, तृतीय पुरस्कार ४० हजार, चौथो पुरस्कार २० हजार र पाँचौ स्थान प्राप्त गर्नेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी दौड सफलतापूर्वक पूरा गर्ने सबै धावकहरूलाई प्रोत्साहन स्वरूप सम्मानपत्र तथा मेडल प्रदान गरिने आयोजले जनाएको छ । प्रतियोगिताले ऐतिहासिक दुर्लुङकोट र पर्वत जिल्लाकै आन्तरिक पर्यटन प्रवर्द्धन र खेलकुद विकासमा महत्वपूर्ण हुने आयोजकको विश्वास छ ।