काठमाडौं, हिमालय नेपाल कृषि कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ मा १८ करोड रुपैयाँको बिक्री कारोबार गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्माले काठमाडौमा आयोजित वार्षिक साधारणसभामा प्रतिज्ञापत्र प्रस्तुत गर्दै चालू वर्षमा १८ करोड रुपैयाँको बिक्री कारोबार हासिल गर्ने लक्ष्य सार्वजानिक गरेका हुन् । त्यसको लागी कम्पनीले उत्पादन क्षमता विस्तार, बजार व्यवस्थापन र व्यावसायिक सञ्चालनलाई प्रभावकारी बनाउने उनले बताए । कम्पनीले कृषि उत्पादनदेखि कृषि सामग्रीको आयात, स्वदेशी उत्पादनको बिक्री तथा निर्यात, भण्डारण, बजारीकरण, जैविक मल उत्पादन, पानी प्रशोधन, च्याउ खेती र कृषि जग्गाको व्यावसायिक उपयोगसम्मका गतिविधिलाई एउटै व्यावसायिक प्रणालीमा जोड्ने लक्ष्य लिएको छ ।
कम्पनीले म्याग्दीको बेनी नगरपालिका–४, सिंगास्थित कृषि परियोजनालाई सञ्चालनको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने जनाएको छ । यस परियोजनाअन्तर्गत कुखुरापालन, माछापालन, तरकारी उत्पादन, बाख्रापालन र रेस्टुरेन्ट सेवालाई एकीकृत गरी आम्दानीका विभिन्न स्रोत विकास गर्ने लक्ष्य राखिएको छ । कम्पनीले कृषि उद्यमशीलता, अनुसन्धान, इन्टर्नसिप र व्यावहारिक अध्ययनका अवसर विकास गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकार, विश्वविद्यालय, कलेज र अनुसन्धान संस्थासँग सहकार्यको सम्भावनासमेत अध्ययन गर्ने जनाएको छ ।
सभामा कम्पनीकी अध्यक्ष प्राडा चण्डिका पण्डितले निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसान केन्द्रित प्रणालीमा रूपान्तरण गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताइन् । उनले एकीकृत व्यावसायिक मोडेलमार्फत कृषि क्षेत्रको उत्पादन र व्यावसायिक क्षमता बढाउने लक्ष्य रहेको उल्लेख गरिन् । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक वित्तीय विवरण छलफलपछि पारित गरेको छ । सभाले सो आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीसमेत पारित गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले पहिलो आर्थिक वर्षमै नाफा आर्जन गरेको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कुल सम्पत्ति १० करोड १७ लाख ६९ हजार १४३ रुपैयाँ रहेको छ । यसमध्ये गैरचालु सम्पत्ति चार करोड ८६ लाख १९ हजार ४७० रुपैयाँ र चालु सम्पत्ति पाँच करोड ३१ लाख ४९ हजार ६७३ रुपैयाँ छ । त्यस्तै, कम्पनीको सेयर पुँजी तीन करोड ७० लाख ५० हजार रुपैयाँ, अग्रिम शेयर पुँजी पाँच करोड ७९ लाख ८४ हजार ७५० रुपैयाँ तथा सञ्चित कोष र जगेडा सात लाख ३७ हजार ६८३ रुपैयाँ १३ पैसा रहेको विवरणमा उल्लेख छ । कम्पनीले आगामी दिनमा सम्भव भएसम्म वार्षिक १० देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने लक्ष्य राखेको पनि छ । त्यस्तै, सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने योजनालाई कम्पनीले दीर्घकालीन रणनीतिका रूपमा अघि सारेको छ ।