काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो तीन महिनामा सिँचाइका चार ठूलो आयोजनामा गरेको खर्च उत्साहजनक रहेको बताएको छ । मन्त्रालयले चालू आवको तीन महिनामा राष्ट्रिय गौरवममा समेत समावेश भएका चारवटा सिँचाइको आयोजनालाई दुई अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको थियो । उक्त खर्चमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको हो । चारवटा सिँचाइ आयोजनाहरूमा भने महाकाली सिँचाइ, बबइ सिँचाइ, सिक्टा सिँचाइ र रानी जमरा कुलरीया सिँचाइ आयोजना हुन् ।
त्यस्तै मन्त्रालयले उक्त खर्चलाई उत्साहजनक भनिरहँदा तीन आयोजनाहरू सुरु भएको करिब तीन दशकभन्दा बढी समय भइसक्दा पनि निर्माण सकिने टुगो छैन । आव २०६३/६४ मा महाकाली सिँचाइ, आव २०४५/४६ मा बबइ सिँचाइ, आव २०६१/६२ मा सिक्टा सिँचाइ र आव २०६६/६७ मा रानी जमरा कुलरिया सिँचाइ आयोजना सुरु भएका हुन् । चारवटै सिँचाइका आयोजनाले दशक बित्दा समेत पूर्णता नपाएको अवस्थमा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र मन्त्रालयका सचिव डा. जगदिश्वर कर्माचार्य भने तीन महिनाको प्रगतिलाई उत्साहजनक रूपमा लिएर बसेका छन् । यता सिँचाइका आयोजनाको लागत र समय निरन्तर बढेको छ भने कृषकहरू सिँचाइ सुविधाबाट वञ्चित हुन पुगेको अवस्थामा मन्त्रालयले तीन महिनाको प्रगतिलाई लिएर सन्तोषजनक मानेर बसेको पाउन सक्छौ ।
यसैगरी आर्थिक वर्ष २०८२/८३ सम्म महाकाली सिँचाइ आयोजनाका १० अर्ब ७१ करोड, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको २१ अर्ब ३२ करोड, बबइ सिँचाइ आयोजनाको १८ अर्ब २१ करोड, भेरी बबइ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १९ अर्ब २९ करोड, सिक्टा सिँचाइ आयोजनाको २४ अर्ब ३३ करोड, सुनकोशी मरिन डाइर्भसन बहुउद्देश्यीय आयोजनाको १६ अर्ब एक करोड कुल खर्च रहेको छ । आर्थिक वर्ष २०८२/८३ सम्म आयोजनाहरूको भौतिक प्रगति भने क्रमशः महाकाली सिँचाइ आयोजनाको ३१ प्रतिशत, रानी जमरा कुलरीय सिँचाइ आयोजनाको ७४ प्रसितशत, बबइ सिँचाइको २ प्रतिशत, भेरी बबइ डाइभर्सन बहुउद्देश्यीयको ६७ प्रतिशत, सिक्टा सिँचाइको ५१ प्रतिशत, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीयको तीन प्रतिशतमा सीमित रहेको छ । मन्त्रालयमाथि सिँचाइ आयोजनालाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको छ, त्यसैले गर्दा यो झिनो प्रगति देखाउनु भन्दा पनि अयाोजनालाई पूर्ण रूपमा कार्यान्वयनतफै लैजानु आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । विभिन्न समस्या र ढिलासुस्तीका कारण सिँचाइका आयोजनाहरू अघि बढ्न नसकेको मन्त्रालयका अधिकारीहरू समेत बताउँछन् ।
त्यस्तै मन्त्रालयका अनुसार चालू आवको पहिलो त्रैमासमा महाकाली सिँचाइ आयोजना (कञ्चनपुर)ले लागि निर्धारित भौतिक लक्ष्यको ९७ दशमलव दुई प्रतिशत प्रगति हासिल गरेको छ । आयोजनाले यस अवधिमा ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाइ गुणाभन्दा बढी हो । त्यसैगरी, बबइ सिँचाइ आयोजनाले त्रैमासिक भौतिक लक्ष्यको ८१ दशमलव आठ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८० दशमलव दुई प्रतिशत र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत प्रगति हासिल गरेका छन् । यता सिँचाइ महानिर्देशक दिनेश रजौरियाका अनुसार यी चार ठूला आयोजनामा मात्रै पहिलो त्रैमासमा एक अर्ब ३९ करोड रुपैयाँ खर्च भएको छ । यो विभागको कुल खर्चको ५८ प्रतिशत हो ।
विभागका अनुसार दाङस्थित प्रगन्ना–बड्कापथ सिँचाइ आयोजनाले ८८ दशमलव दुई प्रतिशत भौतिक प्रगति गरेको छ । यस्तै, गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले निर्धारित शतप्रतिशत लक्ष्य पूरा गरेका छन् । तयारी पूरा भएका आयोजनामा बजेट र निर्माण कार्य दुवै प्रभावकारी रूपमा अघि बढेको महानिर्देशक रजौरियाले बताए । उनले दोस्रो त्रैमासमा ढिलो गरी सुरु भएका आयोजनाहरूलाई समेत तीव्र गतिमा अघि बढाउनु विभागको प्राथमिकता रहेको उल्लेख गरे । पहिलो त्रैमासको प्रगतिले सिँचाइ क्षेत्रका आयोजनाहरूको कार्यान्वयनमा सकारात्मक संकेत देखाएको छ । अब दोस्रो त्रैमासमा बाँकी आयोजनाको गति बढाउँदै निर्धारित लक्ष्यअनुसार काम सम्पन्न गर्नु विभागका लागि मुख्य चुनौती हुनेछ ।