काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ । लक्ष्मीपूजाको अवसर पारेर बैंकले यही कात्तिक २२ गतेदेखि सुरु गरेको उक्त विशेष अभियान आगामी पुस मसान्तसम्म सञ्चालन हुनेछ ।
महोत्सवअन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीहरूका लागि आकर्षक कर्जा सुविधा सार्वजनिक गरेको छ । यस योजनाअनुसार अन्य बैंक तथा वित्तीय संस्थाबाट मुक्तिनाथ विकास बैंकमा व्यवसाय कर्जा स्वाप (स्थानान्तरण) गर्दा आधार दरमै शून्य प्रतिशत प्रिमियम अर्थात् बेस रेट प्लस शून्य प्रतिशत प्रिमियममा कर्जा प्राप्त गर्न सकिनेछ । बैंकका अनुसार यस योजनाले व्यवसायीहरूलाई सहज, सरल र प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनुका साथै उनीहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । विशेषगरी साना तथा मझौला उद्यमीहरूलाई लक्षित गरी ल्याइएको यस अभियानले व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक वित्तीय स्रोतमा पहुँच बढाउन सहयोग पुग्ने बैंकको विश्वास छ ।
ग्राहकको आवश्यकता, व्यवसायको सम्भावना र उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न वित्तीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । ‘एसएमई महोत्सव’ पनि उद्यमशीलताको विकास, व्यवसायीलाई थप वित्तीय अवसर प्रदान तथा ग्राहकसँगको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित ल्याइएको बैंकले जनाएको छ ।