ललितपुर, नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री हुने जानकारी गराउँदै प्रचारप्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरेका छन् ।
महाधिवेशनका बारेमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनमा प्रचारप्रसारलाई वातावरणमैत्री बनाउँदै अधिकांश सूचना तथा प्रचार सामग्री डिजिटल माध्यमबाट देशभर प्रसार गरिने बताए । उनले महाधिवेशन स्थलमा मुख्य प्रवेशद्वार बाहेक अन्य स्थानमा प्रचार सामग्री टाँस्ने काम नगरिने जानकारी दिए ।
“महाधिवेशनसम्बन्धी सूचना काठमाडौँ उपत्यकासहित देशभर डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने तयारी गरिएको छ । महाधिवेशनमा करिब सात हजार ७०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । सहभागी नेता तथा कार्यकर्तालाई समेत आफ्ना गतिविधि र सन्देश डिजिटल माध्यमबाट सम्प्रेषण गर्न आग्रह गरिएको छ”, प्रवक्ता रासससँग चालिसेले भने ।
महाधिवेशन स्थलमा पत्रकारका लागि दैनिक पत्रकार सम्मेलन तथा समाचार सङ्कलनको आवश्यक व्यवस्था मिलाइएको उनले जानकारी गराए । उनका अनुसार वडा तहमा ९९ प्रतिशत क्रियाशील सदस्य सहभागी भएका छन् ।
अन्तरराष्ट्रिय अतिथिका साथसाथै देशभित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई महाधिवेशनमा आमन्त्रण गरिएको प्रवक्ता चालिसेले जानकारी दिए । महाधिवेशनमा वैचारिक बहससँगै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूसँग समेत छलफल गरिने उल्लेख गर्दै उनले युवा, बेरोजगारी र प्रविधिसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर नयाँ अवधारणा तथा नीति प्रस्तुत गर्ने तयारी गरिएको बताए ।
महाधिवेशनलाई व्यवस्थित, अनुशासित र वातावरणमैत्री बनाउन नेपाल तथा विदेशमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र सञ्चारकर्मीलाई जिम्मेवारीपूर्वक सहयोग गर्न प्रवक्ता चालिसेले आग्रह गरे ।