काठमाडौं । नेपाल वायुसेवा निगमले चारवटा विमान इन्जिन मर्मतका लागि करिब ८ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै स्रोत व्यवस्थापन र खरिद प्रक्रियामा देखिएको नीतिगत जटिलता फुकाइदिन सरकारसँग आग्रह गरेको छ।शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विद्यमान कानुनी प्रावधानका कारण इन्जिन मर्मत तथा खरिद प्रक्रियामा अवरोध सिर्जना भएको बताएका हुन्।
उनका अनुसार चारवटा इन्जिन मर्मतका लागि करिब ८ अर्ब रुपैयाँ आवश्यक पर्नेछ। त्यसका लागि स्रोत व्यवस्थापनसँगै खरिद प्रक्रियामा उच्चस्तरीय नीतिगत सहजीकरण आवश्यक रहेको उनले बताए।निगमले भोगिरहेको प्राविधिक तथा वित्तीय संकटबारे समितिलाई जानकारी दिँदै कालाखेतीले बिड बन्ड, पर्फर्मेन्स बन्ड र अग्रिम भुक्तानीसँग सम्बन्धित कानुनी प्रावधानले मर्मत तथा खरिद प्रक्रियामा गम्भीर असर पारिरहेको बताए।
हालै प्राविधिक समस्याका कारण वाइडबडी विमान ग्राउन्डेड हुँदा निगमले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले जानकारी दिए। उनका अनुसार जापान उडानका क्रममा देखिएको प्राविधिक समस्याका कारण करिब ६ वटा उडान प्रभावित हुँदा करिब २४ करोड रुपैयाँ राजस्व गुमेको अनुमान छ।त्यस्तै, इटालीमा मर्मतका क्रममा रहेको अर्को विमानमा समेत थप प्राविधिक समस्या देखिएको निगमले जनाएको छ। समस्या समाधानका लागि पार्ट्स लिजमा लिएर विमान सञ्चालन गर्ने प्रयास भइरहेको छ। निमित्त महाप्रबन्धक कालाखेतीले निगमको समस्यालाई नाफा–घाटाको साँघुरो घेराबाट मात्रै हेर्न नहुने बताए। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न फ्लीट विस्तार र आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले दुर्गम क्षेत्रमा हवाई सेवा निरन्तरता दिनुपर्ने निगमको जिम्मेवारीसमेत रहेको बताए।