काठमाडौं, बैंक तथा फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय वाणिज्य बैंकहरूको पुँजीमा उच्च वृद्धि देखिए पनि विकास बैंक र फाइनान्स कम्पनीहरूको अवस्था भने तुलनात्मक रूपमा कमजोर देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो दुई महिनाको तथ्यांकअनुसार २०८३ भदौ मसान्तसम्म सञ्चालनमा रहेका ५३ वटा बैंक तथा वित्तीय संस्थाको कुल चुक्ता पुँजी चार खर्ब ७२ अर्ब ५४ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५४ वटा बैंक तथा वित्तीय संस्थाको कुल चुक्ता पुँजी चार खर्ब ४४ अर्ब ५७ करोड ६० लाख रुपैयाँ थियो । सो अनुसार पछिल्लो एक वर्ष भित्रमा नैं बैंक तथा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी २७ अर्ब ९६ करोड ९० लाख रुपैयाँ अर्थात् छ दशमलव २९ प्रतिशतले बढेको छ । तर, कुल पुँजी वृद्धिको तथ्यांक हेर्दा बैंकिङ क्षेत्रभित्रको असन्तुलन पनि उच्चरुपमा बढेको छ । समग्र क्षेत्रको पुँजी वृद्धिमा वाणिज्य बैंकहरूको योगदान अत्यधिक छ भने विकास बैंक र फाइनान्स कम्पनीको वृद्धि तुलनात्मक रूपमा निकै कमजोर छ । अझ फाइनान्स कम्पनीहरूको हकमा त संस्थाको संख्या घट्दै जाँदा पनि कुल चुक्ता पुँजीमा सामान्य अंकको मात्र वृद्धि देखिएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको भदौ मसान्तसम्म २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १६ वटा फाइनान्स कम्पनीहरु सञ्चालनमा छन् । गत आवको सोही अवधिमा भने २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी गरी कुल ५४ वटा संस्था सञ्चालनमा रहेका थिए ।
कुल चुक्ता पुँजीको सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूले ओगटेका छन् । चालू आवको भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको मात्र कुल चुक्ता पुँजी चार खर्ब ११ अर्ब २२ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो पुँजी तीन खर्ब ८६ अर्ब २५ करोड २० लाख रुपैयाँ थियो । यस अवधिमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी मात्रै २४ अर्ब ९७ करोड ६० लाख रुपैयाँले बढेको छ । यो वृद्धि समग्र बैंक तथा फाइनान्स कम्पनीहरुको कुल पुँजी वृद्धिको झण्डै ८९ प्रतिशत हो ।
विकास बैंकहरूको चुक्ता पुँजीमा वृद्धि देखिए पनि वाणिज्य बैंकको तुलनामा यो निकै सानो रहेको छ । चालू आवको भदौ मसान्तसम्म विकास बैंकको कुल चुक्ता पुँजी ४५ अर्ब ९९ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो पुँजी ४३ अर्ब दुई करोड २० लाख रुपैयाँ थियो । सो अनुसार एक वर्षको अवधिमा विकास बैंकहरूको चुक्ता पुँजी दुई अर्ब ९७ करोड ६० लाख रुपैयाँले बढेको छ । फाइनान्स कम्पनीहरूको अवस्था भने झनै कमजोर देखिएको छ । चालू आवको भदौ मसान्तसम्ममा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी १५ अर्ब ३१ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी १५ अर्ब ३० करोड रुपैयाँ थियो । यसरी एक वर्षको अवधिमा एउटा फाइनान्स कम्पनीको संख्या घटे पनि कुल चुक्ता पुँजी भने जम्मा एक करोड ९० लाख रुपैयाँले मात्रै बढेको छ । यो वृद्धि समग्र बैंक तथा वित्तीय संस्थाको कुल पुँजी वृद्धिको तुलनामा अत्यन्तै न्यून हो ।