काठमाडौँ, आगामी असोज १८ गतेदेखि नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने भएको छ । आज मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधीसभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा दुई दिन पर सारिएको जानकारी दिए ।
“पार्टीको महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन्, यसैबीचमा देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशन असोज १८ गतेसम्मका लागि सारिएको हो”, उनले रासससँग भने । कांग्रेसले असोज १८ गते दिउँसो २ बजे कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह खुलामञ्चमा हुने जनाएको छ ।