रुस, अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नर शनिबार मस्कोमा अवतरण गरेका छन् । उनीहरूले रूस र युक्रेनबीच चार वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्ने योजनाबारे छलफल गर्ने बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा पठाइएका अमेरिकी यी दुई कुटनीतिज्ञ मस्कोमा वार्तापछि किएभ जाने अपेक्षा गरिएको छ । यो दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक द्वन्द्वमा कूटनीतिक गतिरोध तोड्ने वासिङटनको पछिल्लो प्रयासअन्तर्गत उनीहरूको पहिलो भ्रमण हुनेछ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी पक्षले दूतहरूको भ्रमणमा बाधा पुर्याउन युक्रेनी राजधानीका दुई विमानस्थलमा रातभरि आक्रमण गरेको र निप्रो क्षेत्रको नागरिक लक्ष्यमा आक्रमण गरी पाँच जनाको ज्यान लिएको आरोप लगाएका छन् । ‘स्पष्ट रूपमा, विमानस्थलमाथिको यी रूसी आक्रमणहरू अमेरिकी पक्षले युक्रेन जान विमान प्रयोग गर्ने सम्भावनाबारे छलफल र तयारी गरिरहेका समय आएको प्रतिक्रिया हो’, राष्ट्रपति जेलेन्स्कीले एक्समा लेखेका छन्, ‘युक्रेनी पक्षबाट ‘कूटनीतिक प्रयासमा कुनै अवरोध वा खतरा हुने’छैन ।’
शनिबार पछि अमेरिकी अधिकारीहरूसँगको भेटअघि रूसी नेता भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधिमण्डललाई किएभमा वार्ता गर्न दिन मस्कोको किएभमाथिको आक्रमण तीन दिनसम्म रोक्न आदेश दिए । ‘रूसी राष्ट्रपति, सर्वोच्च कमाण्डर–इन–चीफले आज मध्यरातदेखि तीन दिनसम्म किएभमा आक्रमण नगर्न आदेश दिनुभएको छ’, क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भने । उनले यो ‘अमेरिकी वार्ताकारहरूले किएभका सम्बन्धमा वार्ता तयारी र सञ्चालनसँग जोडिएको’ बताए ।
एक वरिष्ठ युक्रेनी अधिकारीले एएफपीलाई बताएअनुसार अमेरिकी दूतहरू आइतबार किएभ पुग्ने अपेक्षा गरिएको छ भने अमेरिकी मिडिया एक्सियोसले उनीहरूले शनिबार मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने रिपोर्ट गरेको छ । ट्रम्पले पत्रकारहरूसँग भने, ‘दूतहरूले शान्ति सम्भव छ कि छैन भनेर जाँच गर्नेछन् ।’
मस्को र कीभले लामो दूरीका आक्रमण तीव्र बनाएका छन् । आंशिक रूपमा इरानसँगको वासिङटनको युद्धका कारण शान्ति प्रयासहरू रोकिएका छन् । पछिल्ला दिनहरूमा युक्रेन र रूस दुवैतिर सन् २०२२ फेब्रुअरीमा लडाईं सुरु भएयता नदेखिएको स्तरमा नागरिक हताहत बढेको छ । ‘मैले दुई उत्कृष्ट वार्ताकार स्टिभ विट्कफ र जारेड कुश्नरलाई पठाएको छु । उनीहरूले राम्रो काम गरेका छन् र हामीले उनीहरूलाइ केही गर्न सकिन्छ कि सकिँदैन भनेर हेर्न पठाएका छौँ’, ट्रम्पले भने, ‘उनीहरूसँग युद्ध अन्त्य गर्ने प्रस्ताव छ ।’ गाजा र इरानमा युद्धविराम वार्तामा संलग्न विट्कफ र कुश्नर पहिलेका कूटनीतिक प्रयासहरूमा पटकपटक मस्को गएको एएफपीले उल्लेख गरेको छ ।