काठमाडौं । ई–पासपोर्ट खरिद प्रकरणमा जर्मन कम्पनी भेरिडोसका प्रतिनिधिलाई विशेष अदालत, काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।बुधबार विशेष अदालतका न्यायाधीशद्वय नारायण पौडेल र दिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले भेरिडोसका प्रतिनिधिलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।
ई–पासपोर्ट खरिदमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा जर्मन कम्पनी भेरिडोसलाई समेत विपक्षी बनाइएको छ।मुद्दामा पुर्पक्षका लागि भएको सुनुवाइका क्रममा नेपालका लागि जर्मन कार्यवाहक राजदूत बेन्जामिन सिडेलसमेत अदालतमा उपस्थित भएका थिए। भेरिडोसमा जर्मन सरकारको आंशिक स्वामित्वसमेत रहेकाले सुनुवाइका क्रममा जर्मन कूटनीतिक प्रतिनिधिको उपस्थितिलाई जर्मनीको चासोका रूपमा हेरिएको छ।
यसैबीच, नयाँ ई–पासपोर्ट प्रणाली सञ्चालनमा आएयता भेरिडोसले हालसम्म १ लाख ६ हजारभन्दा बढी पासपोर्ट छापिसकेको अदालतसमक्ष जनाएको छ। परियोजना कार्यान्वयन गर्न नसकेको आरोप खेपिरहेको कम्पनीले नयाँ मेसिनमार्फत एकै दिनमा ७ हजारभन्दा बढी ई–पासपोर्ट छाप्न सक्ने क्षमतासमेत अदालतसमक्ष प्रस्तुत गरेको थियो।