काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी–४ का सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले साहको नाम नयाँ उद्योगमन्त्रीका रूपमा सिफारिस गरेका हुन्।
साह चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। उनी यसअघि सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए। जनमत पार्टीबाट निष्काशनमा परेपछि उनले आफ्नै दलसमेत गठन गरेका थिए।
साह हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहेका छन्। मन्त्रिपरिषद्को बैठक जारी रहेका बेला उनी प्रधानमन्त्री कार्यालयको एक कोठामा बसेका छन्।ग्यास अभावका विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि उद्योगमन्त्री यादवले राजीनामा दिएलगत्तै साहलाई नयाँ उद्योगमन्त्रीका रूपमा सिफारिस गरिएको हो।
अब राष्ट्रपतिबाट नियुक्ति भएपछि साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। पछिल्लो समय चुलिएको ग्यास अभाव, आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन नयाँ उद्योगमन्त्रीका लागि प्रमुख चुनौतीका रूपमा रहनेछन्।