काठमाडौं, उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
विभागले सूचना जारी गर्दै उद्योग दर्ता, नवीकरण, उद्योग अद्यावधिक, उद्योग स्थानान्तरण, पुँजी तथा क्षमता वृद्धि, नाम तथा उद्देश्य संशोधन, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वार्षिक प्रगति विवरण, ऋक्च् सम्बन्धी सेवा तथा आईईई÷टीओआर स्वीकृति लगायतका अधिकांश सेवा अब औद्योगिक व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) मार्फत अनलाइनबाटै उपलब्ध हुने जनाएको छ ।
विभागका अनुसार अनलाइन प्रणालीमा समावेश भइसकेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ । आवश्यक परे सम्बन्धित उद्योग वा कम्पनीका आधिकारिक प्रतिनिधिले मात्र आवश्यक परिचयपत्रसहित उपस्थित भई सेवा लिन सक्नेछन् । त्यस्तै, अनलाइन प्रणालीमा समावेश भएका सेवाका आवेदन र कागजात अब भौतिक रूपमा दर्ता गरिने छैनन् । सम्पूर्ण प्रक्रिया विद्युतीय माध्यमबाटै सम्पन्न गरिने विभागले स्पष्ट पारेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले उद्योग प्रशासनलाई डिजिटल प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले अनावश्यक रूपमा विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिएकी थिईन् । सोही अनुसार विभागले सेवालाई डिजिटालाईजेशन गरेको हो । उद्योग विभागले उद्योगी–व्यवसायीलाई अनलाइन प्रणालीको अधिकतम उपयोग गर्न आग्रह गर्दै आवश्यक जानकारी विभागको वेबसाइट तथा आईएमआईएस प्रणालीमार्फत प्राप्त गर्न सकिने जनाएको छ ।