पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिन्डर ग्यास काठमाडौं ल्याएको नेपाल आयल निगमले दाबी गरेको छ । निगमका अनुसार विभिन्न १८ वटा कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट ‘रिफिलिङ’ (पुनः भर्ने) गरेर ८७ हजार आठ सय ७७ वटा सिलिन्डर काठमाडौं ल्याइएको हो ।
भदौ १८ गते २४ हजार चार सय ९४, भदौ १९ गते ३४ हजार एक सय ३४ र भदौ २० गते २९ हजार दुई सय ४९ वटा सिलिन्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्गमार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको दाबी गरेको छ । यद्यपि काठमाडौं उपत्यकामा भने उपभोक्ता ग्यास नपाएर आजित बनिरहेका छन् ।
शनिबार उपत्यकाका विभिन्न स्थानबाट ग्यास सिलिन्डर निगमले बाँडेको थियो । जहाँ सयौँ मानिस सिलिन्डर बोकेर लिन गए पनि ग्यास नपाई फर्किनुपरेको थियो । शनिबार बालाजु औद्योगिक क्षेत्रमा लामो लाइनमा बसे पनि अन्तिममा सकिएको भन्दै धेरै उपभोक्ता रित्तो सिलिन्डर बोकेर फर्किएका थिए ।
भदौ १४ गते त्रिशूलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा इन्धन बोकेका ट्यांकर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए । त्यसलगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था गरेको हो । निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा पनि ‘रिफिलिङ’ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ ।
अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण थालेयता नै पेट्रोलियम पदार्थ तथा ग्यासजन्य आयातमा नेपालजस्ता देशमा समस्या हुँदै आएकोमा रसुवाबाढीपछि कृष्णभीरमा खसेको पहिरोले सडब बगाएसँगै ग्यास बुलेटहरू ल्याउन सकिएको छैन । सोही कारण तराई क्षेत्रमै सिलिन्डर भरेर सरकारले उपत्यकामा ग्यास ल्याउन थालेको छ । पर्याप्त र प्रभावकारी रुपमा ग्यास सुलभ नहुँदा उपभोक्ताहरूलाई समस्या परिरहेको छ । अहिले सरकार आफैँले ग्यास वितरणको काम समेत गरिरहेको छ । ग्यास सिलिन्डर वितरण गर्ने स्थानहरूमा उपभोक्ताहरूको व्यापक भीड हुने गरेको छ ।