काठमाडौं, विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई स्वदेशदेखि गन्तव्य मुलुकसम्म आवश्यक परामर्श, सहजीकरण तथा अभिभावकीय सहयोग उपलब्ध गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सम्झौता भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष डा. हेमराज शर्मा र इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार विद्यार्थीलाई आवास, रोजगारी, कानुनी अधिकार, स्वास्थ्य, सुरक्षा तथा आपत्कालीन सहयोगसम्बन्धी विश्वसनीय जानकारी र आवश्यक सेवा उपलब्ध गराउन दुवै संस्थाले सहकार्य गर्नेछन् । संयुक्त रूपमा प्रस्थानपूर्व तथा गन्तव्य मुलुक पुगेपछिका अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थी सहयोग तथा आपत्कालीन सम्पर्क संयन्त्रको सम्भाव्यता अध्ययन गर्ने र आवास, रोजगारी, कानुनी, स्वास्थ्य तथा कल्याणसम्बन्धी स्रोतको जानकारी संकलन गर्ने सम्झौतामा उल्लेख छ ।
एनआरएनएले विदेशस्थित एनसीसी तथा सम्बन्धित निकायसँग समन्वय गरी नेपाली विद्यार्थीलाई स्वागत, अभिमुखीकरण, कल्याणसम्बन्धी समन्वय तथा आवश्यक सन्दर्भ सेवामा सहयोग गर्नेछ । गन्तव्य मुलुकका स्थानीय कानुन, नियम, रोजगारीको अवस्था तथा समुदायमा उपलब्ध स्रोतसम्बन्धी सान्दर्भिक जानकारी उपलब्ध गराउने र कानुनी, स्वास्थ्य, सुरक्षा, कल्याण वा स्वदेश फिर्तीसम्बन्धी अवस्थामा आवश्यक समन्वय तथा सन्दर्भ सेवा प्रदान गर्ने समझदारीमा उल्लेख छ ।
त्यस्तै, इक्यानले आफ्ना सदस्य परामर्श संस्थामार्फत गुणस्तरीय प्रस्थानपूर्व अभिमुखीकरणलाई प्रोत्साहन गर्ने, सहमत नैतिक मापदण्ड तथा आचारसंहिताको प्रवद्र्धन गर्ने र सम्बन्धित देशका विभाग तथा सदस्य परामर्श संस्थाबीच समन्वयमा सहजीकरण गर्नेछ । समझदारीले विद्यार्थीको व्यक्तिगत सूचना तथा गोपनीयताको संरक्षणलाई समेत प्राथमिकता दिएको छ । विद्यार्थीको व्यक्तिगत विवरण स्पष्ट, कानुनी र आवश्यक उद्देश्यका लागि मात्र प्रयोग तथा आदानप्रदान गर्नुपर्ने र आवश्यक अवस्थामा विद्यार्थीको सूचित सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीको सूचना व्यवसायिक विज्ञापन, मार्केटिङ, भर्ती वा अन्य असम्बन्धित व्यावसायिक प्रयोजनमा प्रयोग गर्न नपाइने समझदारीमा उल्लेख छ ।
कार्यक्रममा संघका अध्यक्ष डा. शर्माले विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीले नयाँ मुलुक पुगेपछि रोजगारी, बसोबास, कानुनी व्यवस्था तथा नयाँ वातावरणमा समायोजनलगायतका विषयमा विभिन्न समस्या सामना गर्ने गरेको बताए । यस्ता समस्या विदेश जानुअघि नै आवश्यक सूचना, परामर्श र तयारीमार्फत न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । विदेश जाने विद्यार्थीलाई एनआरएनएले स्वदेशमै जानकारी दिने उद्देश्यले संघले अभिमुखीकरण तथा परामर्श कार्यक्रम सुरु गर्ने उनले बताए । इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले एनआरएनएसँगको सहकार्य विदेश पुगेपछि विद्यार्थीले भोग्न सक्ने समस्या न्यूनीकरणका लागि महत्वपूर्ण रहेको बताए ।