काठमाडौं, मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस)मा सूचीकृत नेपालका २५ म्यानपावर कम्पनीको नाम उक्त प्रणालीबाट हटाइने भएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा एफडब्लूसीएमएसमा सूचीकृत २५ वटै म्यानपावर कम्पनीको नाम तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिएका छन् । मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियाका लागि नेपालका करिब १ हजार २०० लाइसेन्सप्राप्त म्यानपावर कम्पनीमध्ये २५ वटालाई मात्रै एफडब्लूसीएमएसमा ‘रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सी’का रूपमा सूचीकृत गरेको थियो । सीमित कम्पनीलाई मात्र मलेसियाली रोजगारदातासँग प्रत्यक्ष रूपमा जोडिने अवसर दिइएको न्दै वैदेशिक रोजगार व्यवसायीहरूले त्यसको विरोध गर्दै आएका थिए ।
व्यवसायीहरूले सीमित कम्पनीलाई मात्रै यस्तो अधिकार दिँदा प्रतिस्पर्धा सीमित हुने र मलेसियाको रोजगारीमा केही म्यानपावर कम्पनीको मात्र पहुँच कायम हुने भन्दै यसलाई सिन्डिकेटको प्रयासका रूपमा व्याख्या गरेका थिए । यही विषयमा संघले एफडब्लूसीएमएसमा सूचीकृत २५ म्यानपावर कम्पनीलाई सदस्यताबाट समेत निलम्बन गरेको थियो भने उनीहरूलाई कारबाही गर्न सरकारसमक्ष अनुरोध गर्ने निर्णयसमेत गरेको थियो ।
विवादबीच एफडब्लूसीएमएसमा सूचीकृत २५ म्यानपावर कम्पनीले पनि प्रणालीबाट सामूहिक रूपमा बाहिरिने निर्णय गरेका हुन् । आफूहरूलाई मात्र सीमित गरेर कामदार पठाउने व्यवस्था दीर्घकालीन रूपमा आफ्नै हितमा समेत नरहेको निष्कर्षसहित उनीहरू नाम फिर्ता लिन सहमत भएको महासचिव डाँगीले बताए । यससँगै ती २५ म्यानपावर कम्पनीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा समेत आफ्नो प्रतिबद्धता बुझाउनुपर्ने भएको छ । मन्त्रालयले एफडब्लूसीएमएसमा सूचीकृत २५ वटै म्यानपावर कम्पनीलाई छलफलका लागि बोलाएको थियो ।
यसैबीच युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूतसँगको छलफलमा श्रम आप्रवासनसँग सम्बन्धित विषय द्विपक्षीय संवाद र सहमतिमार्फत टुंग्याउनुपर्ने धारणा राखेका छन् । मन्त्री यादवले श्रम आप्रवासनका विषयमा सम्बन्धित सबै पक्षबीच समन्वय र संवाद आवश्यक
रहेको बताएका छन् ।