यही भदौ १० मा भोटेकोशी त्रिशूली नदीमा अकस्मात आएको बाढीमा मर्ने, बेपत्ता हुने र पीडित बनेका व्यक्ति र परिवारको अझै यकिन हुन सकेको छैन, जब कि त्यो विनाशकारी बाढी आएको आज १६औँ दिन हो र सरकारले यसबीचमा अर्थात् १३औँ दिनमा झण्डा झुकाएर राष्ट्रिय शोक मनायो । तर त्यस दिन सार्वजनिक बिदाचाहिँ दिएन ।
उक्त बाढी परेकामध्ये केही व्यक्तिहरूको ११औँ दिनसम्म पनि जीवित उद्धार भएको छ र जलविद्युत् आयोजनाका सुरुङभित्र अझै पनि जीवित व्यक्तिहरू हुनसक्ने आँकलन गरिएको छ । सरकारले सिंहदरबारमा बसेर बाढीग्रस्त क्षेत्रको गम्भीर रूपमा अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले एक दिन सडकमार्गबाट बट्टार पुगेर आँखाले देखेसम्मको निरीक्षण गरे । हिलोले नछोपेको ढुंगामाथि उभिएर विदुषीको सेतो गोल्डस्टार जुत्तामा हिलो नलगाईकन फोटो सेसन गरे ।
सँगै गएका अर्का असफल इन्जिनियर सुनिल लम्सालले पनि प्रधानमन्त्रीको प्रतिष्ठामा आँच नआउने गरी मन्त्रीको हैसियतमा ‘फोटोसेसन’ गराएर भरपुर मजा लिए । गृहमन्त्री सुदन गुरुङले त्यसपछि अहोरात्र फोटो सेसन गरिरहे । सुरक्षाकर्मी गजौरी मारेर बसिरहेका बेला सिलिन्डर बोकेजस्तो गरेर तमासा देखाए । चुड्कीका भरमा थुनिएको सुरुङ खोलेको फोटो सेसन गराए । सेनाले आपत्ति नजनाउन्जेल उनी त्यतै रमाएर बसेका थिए । सेनाले त्यो क्षेत्र छाड्न भनेपछि सेनाकै अस्पताल छाउनी पुगेर भर्ना भए तर जेन्जी दिवसमा ढंगवावाहरूको साथमा मञ्चमा उभिएर पञ्चायतमा मण्डलेहरू नीरञ्जन थापा, कमल थापा, उत्तम पुनहरूलाई बिर्साउने गरेर प्रजातन्त्रका हिमायतीहरूविरुद्ध बर्सिए । हामी राजनीति सिक्न आएका होइनौँ, सिकाउन आएका हौँ भनेर ।
बसन्त चौधरीको अस्पताल छुस्याहरूको आश्रयस्थल बनेजस्तै सेनाको अस्पताल अहिले सुधन गुरुङहरूको अस्वस्थताको प्रमाणीकरण गर्ने अस्पताल बन्दै गएको छ । उनीहरूले नागरिक अस्पतालप्रति विश्वास गर्न सक्ने अवस्था दखिँदैन । अर्को चन्द्र भण्डारीजस्तै काइते भएर चर्चामा आएका गुल्मीका पछिल्ला सांसद सागर ढकालको बाढीग्रस्त क्षेत्रको हेलिकोप्टर निरीक्षण पनि उत्तिकै चर्चामा रह्यो, नुवाकोटकै सांसद अच्यूतम लामिछानेको आठौँ, दिनको स्थलगत नीरिक्षण पनि कम चर्चाको विषय बनेन ।
१० गत विनाशकारी बाढी आएपछि १२ वटा विदेशी राष्ट्रहरूले तत्काल उद्धारका लागि प्राविधिक सहयोग गर्न तत्पर रहेको जनाएका थिए । तर इकोनिमिक हिट्स म्यानका रूपमा प्रचारित सर्वज्ञ अर्थमन्त्री स्वर्णिम वाग्लेले दुई चार लाखका विदेशी दान वा भीख नचाहिने भन्दै अन्तर्राष्ट्रिय समुदायलाई आफैँ सहभागी सरकारविरुद्ध भड्काउने काम गरे । सरकारले उद्धार गर्न विदेशीलाई अनुमति दिँदा उनीहरूलाई सुरक्षा दिन सकिँदैन भनेर हुतिहार तर्क गरेर बालेन सरकारले उनीहरूलाई उद्धार गर्न अनुमति नदिएको कुरा पनि आएको छ ।
विदेशी मित्रराष्ट्रहरूलाई उद्धारको अनुमति नदिए पनि स्वदेशी जनशक्ति उपयोग गरेर फटाफट उद्धार काम भएको भए अहिले यो विषय उठानको ठाउँ नै हुने थिएन । पहिलो त विपद्ग्रस्त क्षेत्र घण्टीमार्काको क्रिडास्थलजस्तो देखियो, बिस्तारै त्यो उनीहरूको भद्दा मजाक र ओठेभक्तिको क्षेत्र बन्दै गयो । ४० वर्षअघि जिल्ला सदरमुकाममा मनाइने हिलेजात्रा सांसद आशिका तामाङले बैरेनीको हिलोमा गरेर देखाएर मानवीयताविरुद्ध कुर मजाक गरिन् । बाढीपीडित व्यक्तिहरूविरुद्ध घण्टीमार्काले गरेको साइबर बुलिङले मानवीयता, नैतिकता, संवेदनशीलता सबैलाई नाङ्गेझार बनाएको छ ।
घण्टीका पढेलेखेका गन्तव्यहीन जमातको यो कुकर्म कुनै सामाजिक फाँसीवादभन्दा कम छैन । पीडितमाथि कारबाही नै ल्याकत कसैले राख्दैन । किनभने प्रधानमन्त्री वालेन्द्र शाहको नाममा अर्थात् बालेन शाहको नाममा मात्रै दर्ननौँ फेक आइडी सामाजिक सञ्जालमा क्रियाशील छन् । त्यस्तै अवस्था रवि लामिछाने, गृहमन्त्री सुधन गुरुङ र अरुहरूको पनि छ । त्यो आइडी कुन सक्कली हुन् ? कुन नक्कली हुन् ? त्यो छुट्याउने ठाउँमा रहेको सरकार पनि उनीहरूकै छ र साइबर बुलिङ पनि उनीहरूकै कब्जामा छ । त्यसो हुनाले त्यसमाथि छानबिन र कारबाही हुने कुरा गफै मात्र हो । पढेलेखेको गन्तव्यहीन जमातले त्यो जानीजानी गरेको अपधार हो ।
सरकारले सुरुङभित्र थुनिएका स्वदेशी विदेशीलाई निकाल्ने पहल गर्न विदेशीलाई अनुमति नदिएर मात्र गल्ती गरेको छैन । आफूले उद्धार पनि नगरेर गम्भीर गल्ती गरेको छ । त्यसमा सरकारले मानवीयताविरुद्धको अपराध गरेको छ । मानिसको बाँच्न पाउने अधिकारको हनन गरेको छ । सरकारले जलवायु परिवर्तनको कारण भएको बाढीपहिरोबाट भएको क्षतिको अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूृर्ति मागेर मात्र मानवीयताविरुद्धको अपराधबाट उम्कन पाउने अवस्था देखिँदैन । विपद्को ७२औँ घण्टाको उद्धारका लागि सुनौलो समय मानिन्छ र त्यो अवधि गुजारेर सरकारले गरेको गल्ती क्षमा गर्नलायक देखिन्न । अहिले उद्धारमा भएको ढिलासुस्ती, असावधानी, खेलाची जे–जे भए पनि त्यसलाई ढाकछोप गर्ने उल्टै पीडितहरूलई थप पीडा दिनेगरी तथानाम गालीगलौज गराइएको छ ।
त्यसलाई हेर्दा दशा लागेपछि कमिलाको प्वाँख पलाउँछ भन्ने स्मरण हुन्छ । उद्धारको नाममा झारा टार्ने काम गर्दै आएको सरकारका सञ्चारमन्त्री विक्रम तिमल्सिनाले ढिकुरेमा पुगेर अंग्रेजीमा भाषण गरेर ब्यारेक पस्ने परेको घटना पनि पीडित जनताले नदेखेका होइनन् । सरकारले छोपारोले घ्याम्पो समातेजस्तो गरेर उद्धारमा अरुलाई आउन नदिएर एक्लै गर्न खोज गल्तीमाथि गल्ती दो¥योयाउँदै जानुपरेको छ । यसले गर्दा सरकारप्रति जनताको आक्रोश बढ्दै गएको छ र जनताको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगेको छ । बाढी पहिरोले घर परिवार र सम्पत्ति गुमाएका पीडितहरूको धैयको बाँध टुट्दा काँक्रो चारेलाई मुड्की सास्ती भनेजस्तो हुने खतरा बढ्न थालेको छ ।
त्यसको झिल्की एक ठाउँबाट सल्कियो भने एकैसाथ देशव्यापी डढेलोमा परिणत हुनसक्ने अवस्था छ । त्यति बेला सामाजिक सञ्चालमा पोस्ट गरेर ठालु पल्टँदै आएका प्रधानमन्त्री बालेनको हारगुहार पनि आमसञ्चार माध्यमले अनदेखा गर्नुपर्ने अवस्था आउन सक्दछ । किनभने प्रधानमन्त्री बनेपछि शाहले आमसञ्चार माध्यमलाई अवहेलना नै त्यसको कारण हुन सक्नेछ । त्यति बेला अपदस्थ राजाले ज्ञानेन्द्रले प्रत्यन्तर लगाउन नपाई राजगद्दी छोड्नु परेजस्तै हुनेछ । जनता र प्रेस दुवै उनका साथमा नहुन सक्छन् । जनतालई नार्मको स्वास्नी हुनुभन्दा मर्दको कमारी हुनु बेस भन्ने कुरा राम्ररी थाहा छ ।