काठमाडौं , नेपाली कांग्रेसले पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्धवृद्धा तथा बालबालिकाको सहयोगका लागि ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने भएको छ।कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत कोष स्थापना गर्ने घोषणा गरेका हुन्।
कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको स्मृतिमा आगामी साउन ६ गते ‘ग्रीन रन’ आयोजना गर्दैछ। उक्त कार्यक्रममा सहभागी हुने व्यक्तिको संख्याका आधारमा पार्टीको तर्फबाट प्रतिव्यक्ति निश्चित रकम कोषमा जम्मा गरिने शर्माले बताए।‘उक्त कार्यक्रममा सहभागी हुनेको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम आफ्नो कोषबाट जम्मा गरेर एउटा मानवीय सहयोग कोष खडा गर्नेछौं,’ उनले भने, ‘सो कोषको रकम पछिल्लो समय विस्थापित गरिएका सुकुम्वासी परिवारका वृद्ध आमा–बुबा र कलिला बालबालिकाको हितमा खर्च गरिनेछ।’
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ६ गते जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रम आयोजना हुँदैछ। यस्तै, साउन ७ गते पार्टीको नयाँ अभियान घोषणा गर्ने कार्यक्रमको तयारी गरिएको कांग्रेसले जनाएको छ।