काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारी र सदस्यता परित्याग गरेका छन्।पाठकले आइतबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै महामन्त्रीसहित पार्टीका सबै पदबाट अलग हुने तथा पार्टी सदस्यसमेत नरहने घोषणा गरेका हुन्। उनी करिब चार वर्षदेखि राप्रपाको महामन्त्रीको जिम्मेवारीमा रहेका थिए।
पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास रहेको आरोप लगाउँदै पाठकले भ्रष्टाचारविरुद्ध कडा नारा अघि सारे पनि व्यवहारमा त्यसअनुरूपको प्रतिबद्धता र पारदर्शिताको अभाव देखिएको बताएका छन्।‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मान्ने पार्टीभित्र व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव देखिएको उनको भनाइ छ।
पाठकले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै आन्तरिक बेमेल र गुटगत स्वार्थका कारण उत्पन्न तिक्त संघर्ष झनै बढ्दै गएको समेत बताएका छन्। यस्तो अवस्थाका कारण नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवालाई पार्टीप्रति आकर्षित गर्न नसकिएको उनको आरोप छ।उनले आफू लगायत पछिल्लो समय पार्टीमा जोडिएका नेताहरूले समेत विद्यमान अवस्थामा परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखेको बताएका छन्। यद्यपि, पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धताको भने उनले प्रशंसा गरेका छन्।
‘म लगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना देखिँदैन। यसमा मेरा आफ्नै कमजोरीहरू पनि होलान्,’ पाठकले भनेका छन्।पाठक रविन्द्र मिश्रसँगै राप्रपामा प्रवेश गरेका थिए। मिश्रले पनि गत निर्वाचनलगत्तै पार्टी छोडेका थिए। अब पाठकको बहिर्गमनसँगै राप्रपाभित्रको आन्तरिक राजनीति र नेतृत्व व्यवस्थापनबारे थप बहस सुरु हुने देखिएको छ।