काठमाडौं, गत वर्ष फागुन २१ को चुनावमा प्रतिनिधिसभाको लगभग दुई तिहाइ सिटेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुशासन र कार्यप्रणालीमा नयाँ अभ्यास सुरु गर्ने भनेको थियो । सोहीअनुसार बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बनेको वर्तमान सरकारले दिनै गनेर आफूले गर्ने कार्यसूची निकालेको छ । त्यही अनुसार काम गरिरहेको पनि उसैले जनाएको छ ।
तर त्यो सूची र प्रतिबद्धताअनुसार अहिले काम भने हुन सकेको छैन । यसको उदाहरण सरकारले भनेअनुसार राहदानी, नागरिकता, लाइसेन्सलगायतका कागजपत्र घरमै पु¥याउन नसक्नु पनि हो । सरकारकै अंग राहदानी विभागले बुधबार मात्रै राहदानी वितरण आफूले भनेअनुसार गर्न नसकेको स्वीकारेको छ । यसअनुसार राहदानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा पुनः उल्लेख्य वृद्धि भएको जनाउँदै विभागले आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।
विभागले नयाँ राहदानी प्रणाली सुरुआत भएदेखि आमसेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको सङ्ख्या बढेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन बुधबार अनुरोध गरेको हो । विभागले हाल मध्यपूर्वको इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद आगामी असोज २६ गतेसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेको छ ।
त्यस्तै, २०८३ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ । सोही कारण अत्यावश्यक अवस्थाबाहेक सेवाग्राहीलाई नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गई राहदानीका लागि आवेदन पेस गर्न विभागले अनुरोध गरेको छ । विभागले राहदानी सेवाग्राहीको चाप व्यवस्थापन तथा सहज रूपमा सेवा प्रवाह गर्न सबै सेवाग्राहीलाई तोकिएको प्रक्रिया र समय पालना गर्न आग्रह गरेको हो । यसले रास्वपा सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल हुँदै गएको संकेत गरेको छ ।