विराटनगर, जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको विशेष साधारणसभाले कुल जारी पुँजीको २० प्रतिशतबराबरको १० लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
मोरङको बुढीगंगा–५, हात्तीमुढामा सम्पन्न विशेष साधारणसभाले कम्पनीको ५० करोड रुपैयाँ जारी पुँजीमध्ये १० लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याउने निर्णय गरेको छ । सभाले संस्थापक सेयरको मूल्यसमेत निर्धारण गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यमा ९० रुपैयाँ प्रिमियम थप गरी संस्थापक सेयरको मूल्य प्रतिकित्ता १९० रुपैयाँ कायम गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
हाल पुराना ब्याट्री, धातु तथा प्लास्टिक प्रशोधन गर्दै आएको कम्पनीले आगामी योजनाअन्तर्गत विद्युतीय सवारीसाधन (ईभी) का प्रयोग भइसकेका ब्याट्री रिसाइकलिङ गर्ने तयारी गरेको छ । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएसँगै भविष्यमा प्रयोग भइसकेका ब्याट्रीको व्यवस्थापन चुनौती बन्न सक्ने भएकाले त्यसलाई पुनःप्रशोधन गरी उपयोगी कच्चा पदार्थमा रूपान्तरण गर्ने प्रविधि भित्र्याउने कम्पनीको योजना छ ।
कम्पनीले हाल पुराना ब्याट्रीबाट रिमेल्टेड तथा रिफाइन्ड लिड उत्पादन गर्दै आएको छ । त्यस्तै, आल्मुनियम र कपर स्क्र्याप प्रशोधन तथा पुराना प्लास्टिकबाट दाना र चिप्स उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीका अधिकांश उत्पादन भारतीय बजारमा निर्यात हुने गरेको बताइएको छ ।