काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानीलकण्ठ नगरपालिका–४ बस्ने बर्दिया बासगढी नगरपालिका–५ घर भएकी २९ वर्षीया रेश्मा क्षेत्री र काठमाडौं शंखरापुर नगरपालिका–८ बस्ने ५० वर्षीय रंजित केसी रहेका छन् ।
पक्राउ मध्ये रेश्माले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ र रंजितले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रेश्मालाई काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ बाट आइतबार र रंजितलाई काठमाडौं महानगरपालिका–१२ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।