काठमाडौँ, नेपाल टेलिकमले संस्थागत रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कम्पनीले उक्त सहयोग गरेको हो ।
बुधबार आयोजित एक विशेष कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीसमेतको उपस्थिति रहेको थियो । यसअघि कम्पनीका कर्मचारीहरुको तर्फबाट २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको थियो । कम्पनीले प्रभावित क्षेत्रका सेवाग्राहीलाई बाढी पश्चात् नै ६ करोड रुपैयाँ बराबरको निःशुल्क कल, डाटा र एसएमएस सुविधा उपलब्ध गराएको छ ।
कम्पनीको यस सहयोगले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापना कार्यमा उल्लेख्य योगदान पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ । टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपद् र कोभिड महामारीको समयमा देश र नागरिकप्रति समर्पित भई निरन्तर आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको छ ।