काठमाडौं, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्य स्थान स्थानान्तरण नगरिने बताएकी हुन् । प्रस्तावित ट्रमा सेन्टर अन्य स्थानमा सार्न खोजिएको भन्दै स्थानियले आन्दोलमा उत्रेका छन् । नेपाली काँग्रेसका सासद डा. चन्द्रमोहन यादवले स्थानियको मागमा सम्बोधन गर्दै यसअघिको बैठकमा सरकारसँग जवाफ माग गरेका थिए ।
मन्त्री मेहताले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको जानकारी दिइन् । ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ । दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको छ । लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेकाले त्यहाँ तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री मेहताले जानकारी दिइन् ।
‘लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन’, उनले भनिन्, ‘नयाँ संरचना निर्माणसम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो ।’ सरकारको नीति नै आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको उनले बताइन् ।