काठमाडौ, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाएका छन् । साउन २६ देखी ३१ गतेसम्म संचालन भएको एक्स्पोमा अवलोकनकताको उलेख्य सहभागीता देखिएको हो ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन आईतबार ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए । नाइमाका अनुसार एक्स्पोको पहिलो दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनु, एक लाख ८० हजारभन्दा बढीले अवलोकन गर्नु तथा ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु ठूलो उपलब्धि भएको बताइन् । एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनसँगै ज्ञान र सिकाइलाई पनि प्राथमिकता दिएको उनको भनाई छ ।
नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले नाइमा एक्स्पोमा यति ठुलो संख्यामा मानिसको आगमन हुनु सुखद संकेत भएको बताए । अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडा मेला सोचे र अनुमान गरेभन्दा बढी सफल भएको बताए । ‘हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ‘सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ, हामी धेरै नै उत्साहित भएका छौं ।’ त्यसैगरी नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले मेला सुपरहिट भएको बताए ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसहित सिकाइ सत्रहरु, बृहत्तर सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिँदै एक्स्पोको परिभाषालाई अवधारणागत रुपमा पुस्ट्याइँ गरिएको बताए । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।