वीरगन्ज । पर्सामा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित आठ जना क्यासिनोबाट पक्राउ परेका छन्।सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेलसहित आठ जनालाई शनिबार राति वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोनको क्यासिनोबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीका अनुसार उनीहरूलाई राति करिब साढे १० बजे क्यासिनोबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा क्यासिनोमा जुवा खेल्न पुगेका सखुवाप्रसौनी गाउँपालिका–३ का ३० वर्षीय चन्दन सहनी र वीरगन्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा पनि छन्।
त्यस्तै, क्यासिनोमा प्रवेश गराउने कर्मचारीहरू वीरगन्ज महानगरपालिका–१४ का २८ वर्षीय विजयकुमार पटेल, वडा नम्बर २५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगन्ज महानगरपालिका–१२ का ५० वर्षीय प्रदेशी साह पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको छ। घटनाबारे अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।