विराटनगर, पूर्वी नेपालको वर्तमान आर्थिक अवस्था, उद्योग व्यवसायका अवसर र चुनौतीका विषयमा विशेष छलफल आयोजना गरिएको छ ।
उद्योग संगठन मोरङले लिबर्टी इन्टरनेशनल कार्यक्रमअन्तर्गत नेपाल भ्रमणमा आएका अमेरिकी विद्यार्थीदेखि उनीहरुका प्रतिनीधि समेतको सहभागितामा विशेष छलफल आयोजना गरिएको हो । उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठीले पूर्वी नेपाल उद्योग, व्यापार तथा लगानीका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र भएको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्न स्थिर र लगानीमैत्री नीतिको आवश्यकता रहेको उल्ले गरे ।
निवर्तमान अध्यक्ष राकेश सुरानाले पूर्वी नेपालको औद्योगिक विकास, उत्पादन तथा निर्यातका सम्भावनाबारे जानकारी गराउँदै निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूको समाधानका लागि नीतिगत सुधार अपरिहार्य रहेको बताए । लिबर्टी इन्टरनेशनलका ट्रेनिङ लिड मार्या लोन्डनले अमेरिकी विधार्थीहरुलाई नेपाली समाज, संस्कृति, इतिहास र आर्थिक रूपान्तरणका विविध आयामसंग प्रत्यक्ष रूपमा परिचित गराउन नेपाल भ्रमणको गराएको थियो ।
उद्योग संगठनका उपाध्यक्ष विपिन कावराले यस्ता भ्रमणले अन्तर्राष्ट्रिय विद्यार्थीहरू माझ नेपालप्रतिको बुझाइ अझ समृद्ध हुने विश्वास व्यक्त गरे । भविष्यमा व्यापार, लगानी, अनुसन्धान तथा शैक्षिक सहकार्यका नयाँ अवसरहरू सिर्जना हुने उनको भनाइ थियो ।