काठमाडौँ, सांसदहरूले बाढीपीडितको उद्धार, सडक दुर्घटना व्यवस्थापनदेखि भूमिहीन सुकुमबासी समाधानलगायत नागरिकका सरोकारका सवालमा चर्चा गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद डा लेखजङ्ग थापाले बाढी उद्धार टिममा स्वास्थ्यको विषयलाई ध्यानमा राख्दै ‘डिजास्टर हेल्थ टिम’ निर्माण गर्न सुझाव दिए ।
सांसद विक्रम खनालले पश्चिम नवल परासीलगायत तराई क्षेत्रमा लागुऔषधको कुलतमा युवाहरू फसेको बताउँदै कुलतमा परेका युवालाई सरकारस्तरबाटै निःशुल्क सुधार केन्द्र र परामर्शलगायतका सेवा व्यवस्था गर्नुपर्ने बताए ।
सांसद विक्रम थापाले सरकारले बाढी उद्धार कार्यमा सक्रिय भए पनि सरकारको विरोध गरिनु सान्र्दभिक नरहेको बताए । सांसद विपिनकुमार आचार्यले सांसदले तथ्यमा टेकेर स्वतन्त्र रूपमा अभिव्यक्ति दिन पाउनुपर्ने बताए। सांसद विष्णुमाया विकले सुरुङमा फसेका बाढीपिडितको उद्धारमा सरकारले सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
सांसद शम्भुप्रसाद ढकालले स्वास्थ्य बिमा प्रभावकारी बनाउने र सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन जोड दिए । सांसद शोभा खनालले भोटेकोशी बाढीपीडितको लागि तत्काल संरक्षण र कानुनी उपचार प्रदान गर्न आग्रह गए ।
सांसद श्रीधर पोखरेलले बाढीग्रस्त क्षेत्रमा मात्रै केन्द्रित नभई ढाटासम्म प्रभावित भएका बाढीपीडितको परिवारको समेत राहतमा ध्यान दिन सरकारसमक्ष ध्यानार्कषण गरे । सांसद श्रीराम न्यौपानले सडक र पक्की पुललगायत पूर्वाधारबारे सरकारको स्पस्ष्ट जवाफ जरुरी रहेको बताए।
सांसद लक्ष्मीप्रसाद पोख्रेलले नेपालको पछिल्लो राजनीतिक नेतृत्व उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाले गरेको दाबी द ग्रेट जोनले लेखेको छ । यसको जवाफ दिनुपर्ने बताए । सांसद ललिता कुमारीले जलवायु परिवर्तनबारे संवेदनशील हुन सचेत गराए।
सांसद समिना मियाँ निजी र सरकारी क्षेत्रमा लागू हुनेगरी सुत्केरी कर्मचारीलाई छ महिना बिदाको व्यवस्थासँगै कार्यालयमा शिशु स्याहार केन्द्रको स्थापना गर्न अनुरोध गए । सांसद समीक्षा बास्कोटाले विपद् व्यवस्थापनको दीर्घकालीन योजना ल्याउन सरकारसमक्ष ध्यानार्कषण गराए।
सांसद सरस्वती लामाले त्रिभुवन राजपथ सडक साँघुरो भएकाले सडक जाम भएको बताउँदै वैकल्पिक बाटोहरूको उचित व्यवस्थापन गर्नुपर्ने बताए। सांसद साजिदा खातुन सिद्धिकी स्वर्गद्धारी गुठीका मोही किसानको भूमिमाथिको अधिकारबारे जानकारी गराए ।
सांसद सिर्जना श्रेष्ठले विज्ञान तथा प्रविधिलाई देशको विकासमा जोड्नुपर्ने बताए। सांसद सुनिताकुमारी चौधरीले बाढीमा परेका पीडितको उद्धार खोजी र राहतको गतिलाई अझ तीव्र बनाउनुपर्ने बताए। सांसद सुनिल केसीले काठमाडौँ शङ्खरापुर नगरपालिका–९ मा अस्पताल निर्माण गर्ने भनी हेल्पिङ हेन्डले जग्गा दुरूपयोग गरिएको विषयप्रति सरकारको ध्यानार्कषण गराए।
सांसद सुरेशकुमार चौधरीले बाँकेमा सुकुमबासीको समस्या अस्तव्यस्त रहेको बताउँदै सरकारले समान ढङ्गबाट लालपुर्जा दिन देशैभरि अभियान चलाउनुपर्ने बताए । सांसद सुलभ खरेलले विपद् आएपछि उद्धार गर्नेभन्दा विपद् आउनुअघि नै सुरक्षा दिने राज्य आवश्यक रहेको बताए ।
सांसद भोटेकोशी बाढी जलवायु परिवर्तनको मुद्दाका रूपमा संस्थागत गर्नुपर्ने बताए । सांसद सुशीला ढकाल आचार्यले लागुऔषध नियन्त्रणको विषय राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने धारणा राखे ।
सांसद सुष्मा स्वर्णकारले रसुवामा आएको बाढीले उद्धार र राहतसँगै पीडित परिवारको समस्या समाधान गर्न दीर्घकालीन योजना ल्याउन सरकार समक्ष माग गरे । सांसद सोम शर्माले जेनजी आन्दोलनको बलिदानले राजनीतिक परिवर्तन आएको स्पष्ट पारे।
सांसद स्मृति सेन्चुरीले थुनामा परेका नवयुवालाई तत्काल रिहा गर्न माग गरे । सांसद हरिमोहन भण्डारीले बैतडीमा सडक दुर्घटना र पहिरोमा पीडित भएका नागरिकको समस्या उजागर गरे ।
सांसद हरिप्रसाद भुसालले वैदेशिक रोजगार विभागले श्रमिकको गुनासो र समस्याको सुनुवाइ गर्न आग्रह गरे । सांसद क्षितिज थेवेले ताप्लेजुङ जिल्लाका किसानले उत्पादन गर्ने छुर्पी बजार चिनमा रोकिएकाले छिटोभन्दा छिटो खुला गर्ने वातावरण मिलाउन सरकारसमक्ष आग्रह गरे।
सांसद ज्ञानु पौडेलले कर्णाली प्रदेशमा हाडजोर्नी अस्पतालको अभाव हुँदा त्यहाँका बिरामी प्रभावित भएको बताउँदै तत्काल विशेष अस्पतालको व्यवस्था गर्न सरकारसमक्ष माग गरे ।