काठमाडौं, एजिनेक्स क्लाउडले नेपाली बजारमा आफ्नो नयाँ क्लाउड–आधारित प्रडक्ट ‘भाडासेवा’ सार्वजनिक गरेको छ । ‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने नारासहित बजारमा आएको यो प्रणाली व्यवसायिक सम्पत्तिको सम्पूर्ण व्यवस्थापनका लागि विकसित गरिएको एकीकृत डिजिटल समाधान रहेको कम्पनीले जनाएको छ ।
साना घरधनीदेखि ठूला अपार्टमेन्ट, सपिङ मल, व्यवसायिक कम्प्लेक्स, बजार तथा प्रपर्टी व्यवस्थापन कम्पनीसम्मलाई लक्षित गरी तयार गरिएको ‘भाडासेवा’ले एउटै प्लेटफर्मबाट सम्पूर्ण व्यवस्थापन गर्न सकिने सुविधा प्रदान गर्नेछ । नेपालमा घर, फ्ल्याट, सटर, कार्यालय, अपार्टमेन्ट तथा व्यावसायिक भवनको व्यवस्थापन अझै पनि अधिकांश स्थानमा कागजी अभिलेख, डायरी वा एक्सेल फाइलमा सीमित छ । कतिपयले सामान्य एकाउन्टिङ सफट्वेयर प्रयोग गरे पनि त्यसले पूर्ण रुपमा डिजिटलाइज गर्न सकेको अवस्था छैन । यसले भाडा उठाउन ढिलाइ, हिसाब–किताबमा त्रुटि, सम्झौता व्यवस्थापनमा कठिनाइ तथा सम्पूर्ण सञ्चालन प्रक्रियालाई झन्झटिलो बनाउने गरेको छ । ‘भाडासेवा’को प्रपर्टी एण्ड युनिट म्यानेजमेन्ट सुविधाले भवन, ब्लक, तला तथा प्रत्येक कोठा वा सटरको डिजिटल अभिलेख राख्नेछ । ‘कुन युनिट खाली छ, कुन भाडामा छ, सम्झौता कहिले सकिन्छ, कति आम्दानी भइरहेको छ भन्ने सम्पूर्ण जानकारी रियल–टाइममै हेर्न सकिन्छ’, कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भाडावाल व्यवस्थापन (टेनान्ट म्यानेजमेन्ट) प्रणालीमार्फत प्रत्येक भाडावालाको डिजिटल प्रोफाइल, प्रवेश तथा बहिर्गमन विवरण, सम्पर्क, सम्झौता अवधि र सम्पूर्ण इतिहास सुरक्षित राख्न सकिने व्यवस्था गरिएको छ । कम्पनीका अनुसार अब कागजी सम्झौता बोकेर हिँड्नुपर्ने आवश्यकता पर्दैन । डिजिटल सम्झौता सुविधाले भाडा सम्झौता तयार गर्ने, पठाउने, डिजिटल हस्ताक्षर गर्ने तथा सुरक्षित रूपमा अभिलेख राख्ने सुविधा प्रदान गर्नेछ । यसमा भएको रेन्ट इन्भोइस र भुक्तानी प्रणालीले मासिक भाडाको बिल स्वतः तयार गर्नेछ भने डिजिटल भुक्तानीको सुविधा, भुक्तानी ट्रयाक र रसिदसमेत स्वचालित रूपमा उपलब्ध गराउने जनाइएको छ । यस्तै यसमा रहेको युटिलिटी बिलिङ सुविधाले बिजुली, पानीलगायतका युटिलिटी मिटरको रिडिङ राख्ने, बिल गणना गर्ने तथा भाडासँगै एकीकृत रूपमा बिलिङ गर्ने सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अपार्टमेन्ट तथा व्यावसायिक भवनका साझा क्षेत्रको खर्च व्यवस्थापनका लागि सिएएम चार्जेज प्रणाली तयार पारिएको छ । यसले साझा मर्मत तथा सञ्चालन खर्चको स्वचालित हिसाब र बिलिङ गर्छ । साथै भवनमा देखिएका समस्या, मर्मतको अनुरोध, जिम्मेवारी तोक्ने, कामको प्रगति हेर्ने तथा सम्पन्न भएको विवरण राख्ने सुविधा मेन्टिनेन्स म्यानेजमेन्टमा उपलब्ध हुनेछ ।
यसैगरि रिपोर्ट र एनालाइसिसले आम्दानी, खर्च, भाडा संकलन, युनिटको अवस्था, आर्थिक विश्लेषण तथा व्यवसाय सञ्चालनसम्बन्धी विस्तृत रिपोर्ट तयार गर्छ । यसले तथ्यमा आधारित निर्णय लिन सहज बनाउनेछ । भाडा तिर्ने मिति, सम्झौता नवीकरण, बिल जारी, मर्मतसम्भार वा अन्य आवश्यक सूचनाहरू पुस नोटिपिकेसन, एसएमएस, इमेल तथा इन एप नोटिफिकेसनमार्फत सम्बन्धित व्यक्तिसम्म पुग्ने व्यवस्था गरिएको छ । प्रणालीमा राखिएका सम्पूर्ण विवरण सुरक्षित रूपमा इन्क्रिप्ट हुने तथा नियमित ब्याकअप हुने भएकाले डेटा हराउने जोखिम न्यून हुने कम्पनीले दाबी गरेको छ ।
भाडासेवाका प्रमुख विशेषतामा भाडा व्यवस्थापन,सटर तथा युनिट व्यवस्थापन, डिजिटल सम्झौता, डिजिटल तथा अनलाइन भुक्तानी, ब्याकअप तथा सुरक्षित डेटा, सूचना तथा सञ्चार सुविधा, कर्मचारी व्यवस्थापन, सहज अनुगमन तथा रिपोर्टिङ, मर्मतसम्भार व्यवस्थापन, कार्यक्रम तथा इभेन्ट बुकिङजस्ता प्रमुख सुविधा रहेका छन् । ‘भाडासेवा’ विशेषगरी सपिङ मल तथा रिटेल स्पेस व्यवस्थापन, आवासीय अपार्टमेन्टको भाडा तथा युनिट व्यवस्थापन, पसल, मार्केट तथा व्यावसायिक स्पेस व्यवस्थापन, तरकारी, किराना तथा दैनिक उपभोग्य वस्तुको बजार (मण्डी) व्यवस्थापनजस्ता क्षेत्रका लागि उपयोगी हुने जनाईएको छ ।
एजिनेक्स क्लाउडका अनुसार ‘भाडासेवा’ केवल एउटा सफ्टवेयर मात्र नभई नेपालमा घरभाडा तथा व्यावसायिक सम्पत्ति व्यवस्थापनलाई डिजिटल, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने अभियान हो । यो प्रणालीले नेपालमा प्रपर्टी म्यानेजमेन्टको अभ्यासलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ ।