काठमाडौं, भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र सहयोगका लागि काठमाडौंमा सांगीतिक कार्यक्रम आयोजना गरी ४ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटाइएको छ । पीआरभी इन्टरटेनमेन्टको आयोजनामा ट्रिसारा रेष्टुरेन्टमा एक्सिस ब्याण्डको सहकार्यमा आयोजित सांगीतिक फन्डरेजिङ कार्यक्रमबाट चार लाख नौ हजार छ सय ३७ रुपैयाँ संकलन भएको हो ।
कार्यक्रममा सहभागी अतिथि तथा शुभेच्छुकले खरिद गरेका टिकटबाट प्राप्त रकमसँगै विभिन्न संघसंस्था तथा व्यवसायीबाट प्राप्त सहयोगसमेत जोडेर उक्त रकम संकलन गरिएको आयोजकले जनाएको छ । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण मानव जीवनमा क्षति हुनुका साथै घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।