क्वालालम्पुर, मलेसियाले सन् २०२७ का लागि ‘फिड–इन ट्यारिफ’ (फिट) कार्यक्रमअन्तर्गत २५० मेगावाटको नवीकरणीय ऊर्जा कोटा उपलब्ध गराउने भएको छ । ऊर्जा रूपान्तरण तथा जल रूपान्तरण मन्त्रालयका अनुसार नयाँ कोटाबाट तीन अर्ब रिङ्गिट (करिब ७४ करोड अमेरिकी डलर) बराबरको लगानी भित्रिने र पाँच हजारभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
फिट सरकारी संयन्त्र हो, जसअन्तर्गत उपयोगिता कम्पनीले नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादित विद्युत् दीर्घकालीन सम्झौतामार्फत निश्चित दरमा खरिद गर्छन् । मन्त्रालयका अनुसार प्रायद्वीपीय मलेसिया र लाबुवानको संघीय क्षेत्रमा रहेका योग्य नवीकरणीय ऊर्जा विकासकर्तालाई बायोग्यास, बायोमास र साना जलविद्युत् आयोजनाका लागि उक्त कोटा उपलब्ध गराइनेछ ।
कुल कोटामध्ये बायोग्यासका लागि ३० मेगावाट, बायोमासका लागि १२० मेगावाट र साना जलविद्युतका लागि १०० मेगावाट छुट्याइएको छ । यसका लागि ‘सस्टेनेबल इनर्जी डेभलपमेन्ट अथोरिटी’ (सेडा) मलेसियाको वेबसाइटमार्फत आगामी फेब्रुअरी ३ देखि मार्च २४ सम्म विद्युतीय बोलपत्र (ई–बिडिङ) मार्फत आवेदन दिन सकिनेछ ।
मन्त्रालयले नयाँ फिट कोटाबाट तीन अर्ब रिङ्गिटबराबरको लगानी भित्रिने अपेक्षा गरिएको जनाएको छ । उक्त रकममा स्थानीय रूपमा जडान गरिएका ग्यास इन्जिन र बोयलर खरिदका लागि खर्च हुने ५१ करोड रिङ्गिटसमेत समावेश छ । यो पहल सन् २०५० सम्म देशको कुल विद्युत् आपूर्तिमा नवीकरणीय ऊर्जाको हिस्सा ७० प्रतिशत पुर्याउने मलेसिया सरकारको लक्ष्यअन्तर्गत अघि बढाइएको सिन्ह्वाले उल्लेख गरेको छ ।