काठमाडौं, भोटेकोशी नदीको विध्वंसकारी बाढीसँगै मुस्ताङको कोरला नाका व्यस्त हुने भएको छ । बाढीले पछिल्ला वर्षयता नेपाल–चीन व्यापारको प्रमुख नाकामा व्यापक क्षति पु¥याएपछि कोरला नाकाबाट आयातनिर्यात बढ्ने देखिएको हो ।
भदौ १० को बाढीपछि रसुवागढी र केरुङतर्फ दुवै देशका भौतिक संरचना पूर्ण रूपले बगेका छन् । यो नाका अब फेरि सञ्चालनमा ल्याउन बगाएका संरचनाको पुनर्निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि धेरै समय लाग्ने अनुमान छ । केरुङसम्म चीनतर्फको पहुँच सडकसमेत बाढीले बगाएको छ । अहिले चीनले धमाधम बाटो बनाउने काम गरिरहेको छ भने हाललाई चीनतर्फका भन्सारसम्बन्धी काम समेत अस्थायी रूपमा सीमाक्षेत्रभन्दा परबाट गर्नथालेको छ ।
यता सिन्धुपाल्चोकको तातोपानी नाका समेत रसुवा बाढीपछि चीनले अस्थायी रूपमा बन्द गरिदिएको छ । चीनले तातोपानी नाकाबाट भन्दा केरुङ नाकाबाट नेपालसँगको व्यापारलाई बढी महत्व दिँदै आएको थियो । योसँगै चीनबाट नेपाल आयात हुने सामानहरु अब कोरला नाका हुँदै नेपाल भित्रिने भएको हो । बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट ल्याइनेछ । दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्ग बगाएपछि केरुङका गोदाममा रहेका चार सय कन्टेनरभन्दा बढी सामान वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ ।
कोरला नाकाका भन्सार प्रमुख विदुर चुडालका अनुसार भदौ १० सम्म मुस्ताङमा कोरला नाका मात्र भए पनि अहिले रसुवागढी र तातोपानी पनि यतै आएको उल्लेख गरे । योसँगै कोरलामा अचानक चाप बढेको छ ।
सो ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार भोटेकोशी नदीमा गएको बाढीले तहसनहस बगाएका रसुवागढीस्थित भौतिक संरचना र काठमाडौं जोड्ने सडकमार्ग तयार हुन समय लाग्ने देखिएपछि अब कोरला नाका प्रयोग गरी नेपालतर्फ सामन लैजाने काम धमाधम भइरहेको हो । उनले भने, ‘नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडबाड सुरु हुन लागेको अवस्थामा छोटो सडकमार्ग प्रयोग गरी सामान ढुवानीको काम तीव्र रूपमा भइरहेको थियो ।’
यसैबीच, सामान ढुवानीका क्रममा रसुवागढी–त्रिशूली सडकमार्गमा रहेका कैयौँ ‘कन्टेनर’ बगी जनधनको क्षति व्यहोर्नुपरेको छ । ‘नेपाली व्यापारी तथा व्यवसायीले चिनियाँ उत्पादक कम्पनीका सामान नेपाल ल्याउने क्रममा सीमावर्ती क्षेत्रसम्म ढुवानी गर्ने जिम्मेवारी पूरा गरी पुख्र्यौली देशको सेवा गरिरहेको छु’, उनले भने । मुस्लिम समुदायका आफ्ना बाउबाजे काठमाडौं–बागबजारबाट व्यापार–व्यवसायका सिलसिलामा तिब्बततर्फ आएको जानकारी दिँदै प्रबन्ध निर्देशक ज्याङले मुसा ट्रान्सपोर्टमार्फत हाल सिगात्से सहरमा रही नेपालको सीमा नाकासम्म सामान ढुवानीको कारोबार गर्दै आएको बताए ।
सीमा क्षेत्रका १७ सय २० नेपालीलाई चिनियाँ सहयोग
चीनले नेपाली सीमा क्षेत्रका १ हजार ७ सय २० नेपालीलाई आकस्मिक राहत उपलब्ध गराएको जनाएको छ । भोटेकोशी बाढीपछि नराम्ररी प्रभावित बनेको सीमा क्षेत्रका बासिन्दालाई उक्त सहयोग उपलब्ध गराइएको चाइना डेलीले जनाएको छ । बाढीपछि चीनतर्फ ४३ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ५ सय १९ को अवस्था अझै अज्ञात छ । बाढीको कारण केरुङतर्फ व्यवसायको सिलसिलामा अड्किएका धेरै नेपालीलाई चीनले यसअघि नै तातोपानी नाका हुँदै नेपाल पठाउन थालिसकेको छ ।
सूचना संयन्त्र स्थापना
चीनले बाढीमा हराइरहेका २३ देशका २ सय ६१ जनाबारे जानकारीका लागि सूचना संयन्त्र स्थापना गरेको छ । एक चिनियाँ अधिकारीले आइतबार दिएको जानकारीअनुसार चीन–नेपाल विपद् सूचना आदानप्रदान दैनिक रूपमा भइरहेको छ । यससम्बन्धी सबै सूचना बाढीमा आफ्ना नागरिक परेका सबै देशलाई उपलब्ध गराउने चीनले जनाएको छ । यसका लागि चीनले हटलाइन नै स्थापना गरेको उल्लेख गरेको छ । त्यस्तै कूटनीतिक नियोगमार्फत समेत यस्ता जानकारी उपलब्ध गराइएको चीनले जनाएको छ ।