काठमाडौं, विकास बैंकहरूको कुल कर्जा प्रवाह रकम पाँच खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विकास बैंकहरूको २०८३ असार मसान्तसम्ममको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा सञ्चालनमा रहेका १६ वटा विकास बैंकहरूको कुल कर्जा रकम पाँच खर्ब ५१ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ पुगेको हो । यस अवधिमा कुल निक्षेप रकम भने छ खर्ब ६१ अर्ब ९१ करोड १६ लाख रुपैयाँ पुगेको छ
प्रतिवेदनअनुसार २०८३ असार मसान्तसम्ममा विकास बैंकहरूको कुल चुक्ता पुँजी ४५ अर्ब ४९ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने कुल पुँजी कोष ७९ अर्ब ८१ करोड २१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कुल जोखिमभारित सम्पत्ति भने पाँच खर्ब ४७ अर्ब ६३ करोड १७ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको भनाइ छ । विकास बैंकहरूको समग्र कोर क्यापिटल एडिक्वेसी रेसियो ११ दशमलव ७३ प्रतिशत र पुँजी पर्याप्तता अनुपात १४ दशमलव ५७ प्रतिशत रहेको छ । यसैगरी कुल निक्षेपको तुलनामा कर्जा तथा सापटीको अनुपात ८४ दशमलव १० प्रतिशत कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार विकास बैंकहरूको औसत निष्क्रिय कर्जा पाँच दशमलव ३७ प्रतिशत रहे पनि केही बैंकहरूमा निष्क्रिय कर्जाको अनुपात निकै नै रहेको छ । सोअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा नारायणी डेभलपमेन्ट बैंकमा रहेको छ । यो बैंकको कुल कर्जा मध्येमा ४८ दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय देखिएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकमा सात दशमलव ६८ प्रतिशत, सिन्धु विकास बैंकमा सात दशमलव ६६ प्रतिशत, ज्योति विकास बैंकमा छ दशमलव ५५ प्रतिशत, महालक्ष्मी विकास बैंकमा छ दशमलव ३२ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकमा छ दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
यीबाहेक गरिमा विकास बैंकमा चार दशमलव ७६ प्रतिशत, मुक्तिनाथ विकास बैंकमा चार दशमलव ७७ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकमा चार दशमलव ५७ प्रतिशत, लुम्बिनी विकास बैंकमा छ दशमलव ९४ प्रतिशत र शाइन रेसुङ्गा विकास बैंकमा चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । प्रतिवेदन अनुसार सबैभन्दा कम निष्क्रिय कर्जा मितेरी, सालपा, ग्रिन र कामना सेवा बिकास बैंकमा देखिएको छ । यी बैंकहरूमा क्रमशः शून्य दशमलव २६, शून्य दशमलव ७९, तीन दशमलव २२ र तीन दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
प्रतिवेदनअनुसार विकास बैंकहरूको समग्र खुद तरलता अनुपात भने २८ दशमलव शून्य छ प्रतिशत रहेको छ । राष्ट्र बैंकले न्यूनतम २० प्रतिशत खुद तरलता कायम गर्नुपर्ने व्यवस्था गरेकोमा अधिकांश विकास बैंकले उक्त सीमाभन्दा माथि तरलता कायम गरेका छन् । सोअनुसार नारायणी डेभलपमेन्ट बैंकको खुद तरलता ७९ दशमलव ८५ प्रतिशत रहेकोमा कर्पोरेटको ६१ दशमलव ५७ प्रतिशत र सालपाको ५१ दशमलव ३३ प्रतिशत छ । यसैगरी कामना सेवाको २५ दशमलव १२ प्रतिशत, गरिमाको २६ दशमलव २४ प्रतिशत र मुक्तिनाथको २७ दशमलव ९५ प्रतिशत खुद तरलता अनुपात कायम गरेका छन् ।
प्रतिवेदनअनुसार चुक्ता पुँजीका आधारमा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि देखिएको छ । यो बैंकको चुक्ता पुँजी आठ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको छ । यसबाहेक गरिमाको छ अर्ब दुई करोड, शाइन रेसुङ्गाको पाँच अर्ब दुई करोड, महालक्ष्मीको चार अर्ब ५१ करोड र ज्योतिको चार अर्ब ४० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी रहेको छ । कुल पुँजी कोषमा पनि मुक्तिनाथ १३ अर्ब ३४ करोड ५० लाख रुपैयाँसहित अगाडि छ । त्यसपछि गरिमाको ११ अर्ब चार करोड ३४ लाख, शाइन रेसुङ्गाको नौ अर्ब २४ करोड ७९ लाख, ज्योतिको आठ अर्ब ५७ करोड ३२ लाख र महालक्ष्मीको आठ अर्ब २१ करोड ५८ लाख रुपैयाँ कुल पुँजी कोष रहेको छ ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा कमजोर बिकास बैंक भने हाल समस्याग्रस्त विकास बैंकको सुचीमा रहेको कर्णाली डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ रहे पनि कोर पुँजी र कुल पुँजी कोष ऋणात्मक ३८ करोड ५६ लाख रुपैयाँ रहेको छ । कर्णालीको जोखिमभारित सम्पत्ति दुई अर्ब ७० करोड ३५ लाख रुपैयाँ रहेको छ । बैंकको कुल निक्षेप ४२ करोड ९४ लाख ५६ हजार रुपैयाँ र कुल कर्जा २४ करोड ४१ लाख पाँच हजार आठ सय रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।