काठमाडौं, शस्त्र प्रहरी बल नेपालले संगठनको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १५ करोड ५० लाख रकम जम्मा गर्ने भएको छ । कर्मचारीको तलब कट्टा गरी राहत कोषमा रकम जम्मा गर्ने सशस्त्र प्रहरीले जनाएको छ । साथै, बाढीमा परी मृत्यु भएका कर्मचारिका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारलाई राष्ट्रसेवकहरूको तर्फबाट तत्काल १५ लाख, सशस्त्र प्रहरी कर्मचारीहरूको मृत्यु भएमा निजको हकवाला र आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि,२०७९ बमोजिम ५ लाख तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष संचालनसम्बन्धी मापदण्ड, २०८१ बमोजिम ५ लाखसमेत गरी कुल २५ लाख रुपैयाँ रकम तत्काल उपलब्ध गराउने निर्णय गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
राहत कोषमा सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरूले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन् । सशस्त्र प्रहरीका अनुसार बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा भने रकम कट्टा गरिने छैन । यसका साथै मृतक कर्मचारीहरूले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरूलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने निर्णयसमेत संगठनले गरेको छ ।
सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य सोही बाढीका कारण मृत्यु भएमा राहत स्वरुप प्रतिव्यक्ति १ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र सोही बाढीको कारणबाट मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीहरूको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारकसमेत निर्माण गरिने भएको छ । मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रित परिवारका १÷१ जना सदस्यहरूलाई सिपमूलक तालिम प्रदान गर्ने र सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई राहत स्वरुप जनही ५० हजार रुपैयाँका दरले तत्काल उपलब्ध गराउने समेत संगठनले निर्णय गरेको छ ।
साथै, बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख रुपैयाँ, घरवार विहीन भएमा १ लाख रुपैयाँ र आंशिकरूपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई ५० हजार रुपैयाँसम्म तत्काल उपलब्ध गराउने निर्णय समेत भएको सशस्त्र प्रहरीले जनाएको छ ।