ढाका, खाना पकाउने ग्यास, विद्युत् र मलको अभावलाई लिएर बंगलादेशमा शनिबार हजारौँ विपक्षी समर्थकले सरकारविरुद्ध विरोध ¥याली निकालेका छन् । प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा सरकार गठन भएको छ महिनापछि भएको यो सडक प्रदर्शन सरकारविरुद्धको पहिलो ठूलो विरोध कार्यक्रम भएको बताइएको छ ।
विपक्षी समर्थकहरू ब्यानर र प्लेकार्डसहित ढाकाको एक सार्वजनिक स्थलमा भेला भएका थिए । उनीहरूले बन्दरगाह सहर चट्टोग्रामतर्फ पदयात्रा सुरु गरेका छन् । पदयात्राका क्रममा विभिन्न स्थानमा थप र्याली आयोजना गरिने जनाइएको छ । विपक्षी नेता शफिकुर रहमानले आन्दोलन खाना पकाउने ग्यासको नियमित आपूर्ति र प्रत्येक घरमा विद्युत् सेवा सुनिश्चित गर्न केन्द्रित रहेको बताए ।
‘यो आन्दोलन खाना पकाउने ग्यासको सुनिश्चितता गर्न र हरेक घरमा बिजुली पुरयाउन केन्द्रित छ’, उनले समर्थकलाई सम्बोधन गर्दै भने । मध्यपूर्वमा जारी युद्धलगायतका कारण बंगलादेशमा इन्धन तथा अन्य अत्यावश्यक वस्तुको अभाव बढेको बताइएको छ । संकट व्यवस्थापनमा सरकारको भूमिकालाई लिएर पनि आलोचना भइरहेको छ ।
उच्च विद्युत् महसुलप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ सरकारी अधिकारीलाई अपमान गरेको आरोपमा एक कलेज विद्यार्थी पक्राउ परेको भोलिपल्ट विपक्षीले प्रदर्शन गरेको हो । आलोचकहरूले उक्त पक्राउलाई सरकारको आलोचना र असहमतिप्रति बढ्दो असहिष्णुताको संकेतका रूपमा व्याख्या गरेका छन् ।
विपक्षी नेसनल सिटिजन पार्टीका नेता अख्तर हुसेनले सरकार ग्यास, विद्युत् र मलको आपूर्ति व्यवस्थापनमा असफल भएको आरोप लगाउ । ‘तपाईंहरू ग्यास, बिजुली र मल आपूर्ति गर्न असफल हुनुभएको छ र मानिसहरूलाई बोल्नसमेत दिइरहनुभएको छैन’, उन्ले भने । उनले सरकारलाई आफ्ना नीतिका कारण गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको एएफपीले उल्लेख गरेको छ ।