काठमाडौं, अपि–साइपाल तथा कञ्चनजंघा पदमार्ग केन्द्रित सांस्कृतिक प्रदर्शन प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बीच बुधबार सम्झौता भएको हो । सम्झौतामा बोर्डका निमित्त कार्यकारी प्रमुख तथा एसटीपी राष्ट्रिय कार्यक्रम निर्देशक हिक्मत सिंह ऐर र सांस्कृतिक संस्थानका तर्फबाट महाप्रबन्धक किरण बाबु पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुसार दुवै संस्थाले सांस्कृतिक सम्पदालाई पर्यटन उत्पादनका रूपमा विकास गर्दै दुर्गम हिमाली गन्तव्यमा पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् ।
सम्झौताअनुसार २०८३ साउनदेखि २०८३ पुस १४ गतेसम्म परियोजना कार्यान्वयनको समयवाधि तय गरिएको छ । परियोजनाअन्तर्गत ‘अपि–साइपाल र कञ्चनजंघा पदमार्गका लागि सांस्कृतिक प्रदर्शन प्याकेज विकास’ कार्यक्रम सांस्कृतिक संस्थानले कार्यान्वयन साझेदारका रूपमा सञ्चालन गर्नेछ । सम्झौताअन्तर्गत अपि–साइपाल र कञ्चनजंघा क्षेत्रमा सांस्कृतिक प्याकेज विकास तालिम, सांस्कृतिक कलाकार तथा स्रोत व्यक्तिको परिचालन, वाद्यवादन सामग्री र साउन्ड सिस्टम व्यवस्थापन, नमूना सांस्कृतिक प्रस्तुति, सांस्कृतिक प्याकेज प्रदर्शनी तथा स्थानीय सांस्कृतिक प्रस्तुतिको विकास गरिनेछ । यसका अतिरिक्त जनकपुर, मनास्लु र लुम्बिनीमा समेत सांस्कृतिक प्रदर्शन प्याकेज विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
परियोजनामा फरक क्षमता भएका व्यक्तिहरूका लागि गायन तालिम, प्रतिभा प्रस्तुति र रेकर्डिङ कार्यक्रमसमेत समावेश गरिएको छ । साथै अपि, मनास्लु र कञ्चनजंघा क्षेत्रका सांस्कृतिक समूहबीच सांस्कृतिक आदान–प्रदान कार्यक्रम सञ्चालन गरी स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने योजना रहेको छ । परियोजना निर्देशक ऐरले नेपालका हिमाली पदमार्गहरू प्राकृतिक सौन्दर्यका मात्र नभई जीवित संस्कृति र मौलिक पहिचानका केन्द्र भएको बताए । यस सहकार्यले पर्यटनलाई स्थानीय संस्कृतिसँग जोडेर नयाँ अनुभव सिर्जना गर्ने उनको विश्वास छ । ‘यो सहकार्यले अपि–साइपाल, कञ्चनजंघालगायतका गन्तव्यमा सांस्कृतिक पर्यटनको नयाँ आयाम थप्नुका साथै स्थानीय कलाकारका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नेछ,’ उनले भने ।